मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराएका छन ।
मुख्यमन्त्री शर्मासहित भौतिक पूर्वाधार, यातायात तथा शहरी विकासमन्त्री मंगलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको टोली आगलागी क्षेत्रको स्थलगत निरीक्षण गरी पीडित परिवारलाई प्रदेश सरकारका तर्फबाट राहत उपलब्ध गराएका हुन ।
सो अवसरमा मुख्यमन्त्री शर्माले पीडित परिवारसँग कुराकानी गरी समस्याबारे जानकारी लिएका थिए । मुख्यमन्त्रीसँग पीडित परिवारले जलेका घरको पुनःनिर्माण, विस्थापितलाई उचित राहतको व्यवस्था गर्दै पुनःस्थापना र तत्काल बस्न र खानाको व्यवस्था मिलाइदिन माग गरेका थिए ।
आगलागी पीडित पद्मराज मल्लले मुख्यमन्त्री समक्ष घटना र क्षतिबारे विस्तृत जानकारी गराएका थिए । आगलागी पीडित लक्ष्मी मल्लले आफ्नो होटेल जलेर पूरै खरानी भएको र लगाउने लुगासम्म पनि केही बचाउन नपाएको बताइन् ।
उनले उचित व्यवस्थापन तथा व्यवसाय सुरु गर्नका लागि राहतको अपेक्षा गरेको मुख्यमन्त्री शर्मा समक्ष गुनासो गररिन् । आगलागी क्षेत्रको स्थलगत निरीक्षणपछि मुख्यमन्त्री शर्माले जिल्ला प्रशासन कार्यालय मुगुमा पीडित परिवारलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका थिए ।
राहत वितरण गर्दै मुख्यमन्त्री शर्माले थप राहत सामग्रीदेखि जलेका घर र व्यवसाय पुनःनिर्माण, पुनःस्थापनाका लागि प्रदेश सरकारबाट उचित निर्णय लिने आश्वासन दिएका थिए ।
आगलागी पीडित २३ घरपरिवारलाई मुख्यमन्त्री शर्माले चामल, दाल, म्याट, पाल, सिलिन्डर, चुलो, कुकर, थालीलागायतका सामान वितरण गरेका थिए । प्रदेश सरकारले प्रतिघर तीन लाख दिने निर्णय गरिसकेकाले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम पुनःनिर्माणका पठाइने उनको भनाइ छ ।
गत शुक्रबार राति १२ बजे मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा कालिका मालिका मन्दिरको उत्तर दिशातिर रहेका आठ घर पूर्णरुपमा, तीन घर आंशिक र नौ व्यावसायिक पसल जलेर नष्ट भएका थिए । आगलागीबाट २८ परिवारका ९५ सदस्य प्रभावित भएका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology