बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसूतिगृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ ।
सुत्केरी हुन सदरमुकाम नेपालगन्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाका नौवटै वडामा प्रसूति गृह सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।
‘गाउँपालिकाले सबै वडामा बर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ ।’
अध्यक्ष पौडेलले राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । गाउँपालिकाले वडा नं-६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नवनिर्मित प्रसूतिगृह भवनको उद्घाटन गरी प्रसूति सेवा सञ्चालनको तयारी गरेको छ ।
योसँगै राप्ती सोनारी गाउँपालिकाका सात वडामा प्रसूतिगृह सञ्चालनमा आएका छन । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै प्रसूतिगृह सञ्चालनमा आइसकेका छन ।
अब यो आर्थिक वर्षमै वडा नंं-८ शम्शेरगन्जमा पनि प्रसूतिगृह सञ्चालनमा ल्याइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।
वडा नं-६ कमैयाडाँडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूतिगृह सञ्चालनमा आएपछि सुत्केरी हुन सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्यसँगै आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने उनले विश्वास व्यक्त गरे ।
कमैयाडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाइकर्मी र एक जना कार्यालय सहयोगी गरी सात जना कर्मचारी कार्यरत छन ।
प्रसूतिगृह सञ्चालनपछि भने जनशक्तिको अभाव हुने अनमी तिलसरी घर्तीले बताइन् । २६ लाख २४ हजार ९ सय ५८ मा प्रसूतिगृह भवन निर्माण सम्पन्न भएको राप्ती सोनारी गाउँपालिका वडा नं-६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए ।
वडा नं-६ मा गर्भवती तथा सबैखाले बिरामीको सहजताका लागि एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटीको २४ लाख र गाउँपालिका र वडा कार्यालयको करिब एक लाखको सहयोगमा एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको वडाध्यक्ष खरेलले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology