नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा ज्वेलरी पसलमा करोडौँको चोरी भएको छ । दिल्ली प्रहरीको सबै प्रयासका बाबजुद पनि राजधानी दिल्लीमा चोरी, डकैती र लुटपाटका घटनाहरू कम भएका छैनन् ।
दिल्लीको दक्षिण पूर्वको निजामुद्दिन थाना क्षेत्रमा पर्ने भोगलको एउटा ज्वेलरी पसलबाट करिब ४० करोडका गहना चोरी भएका हुन् । उमरावसिंह ज्वेलर्स पसलमा चोरी भएको प्रहरीले जनाएको छ । हरेक साता सोमबार बन्द हुने उक्त बजारको ज्वेलरी पसल मंगलबार खोलेर हेर्दा राति नै चोरी भइसकेको थियो । चोरहरूले पसलको सिसिटिभी क्यामेरा समेत तोडफोड गरिदिएका छन् ।
दिल्ली प्रहरीले चोरी गर्ने गिरोहको खोजी जारी रहेको जनाएको छ । चोरी भएको पसल आसपास भएका सबै सिसिटिभी क्यामेराबाट दृष्य हेर्ने काम भइरहेको छ ।
पसल सञ्चालक मंगलबार बिहान पसल खोल्दा भित्र धुलो मात्र देखिएको र हेर्दै जाँदा चोरले पर्खालमा प्वाल बनाएर गहनाहरू चोरी गरेको पाइएको बताएका छन् । नगद करिब १० लाख र ४० करोड बराबरको गरगहना चोरी भएको पसल संचालकले आफ्नो उजुरीमा उल्लेख गरेका छन् ।
राजधानीमै पसल फुटाएर करोडौँको सामान चोरिएपछि व्यवसायीहरू सुरक्षा व्यवस्था कमजोर भएको भन्दै आक्रोशित भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology