काठमाडौं । दाङ जिल्लाको बंगलाचुली गाउँपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीहरूका लागि पाँच दिन पर्यटन काजको व्यावस्था गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रममा समावेश गर्दे गाउँसभाले सो निर्णय गरेको हो ।
निति तथा कार्यक्रममा भनिएको छ 'यस गाउँपालिकाअन्तर्गत कार्यरत सबै राष्ट्रसेवक शिक्षक तथा कर्मचारीलाई कम्तिमा ५ दिनको पर्यटन काजको व्यावस्था मिलाइएको छ ।' शिक्षक पनि राष्ट्र सेवक भएको र समाजमा इञ्जिनियर, डाक्टर,पत्रकार लगायतका व्यक्ति उत्पादन गर्ने शिक्षकलाई अपमान गर्न नहुने भन्दै पाँच दिन पर्यटन काज बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।
साथै पाँच दिन पर्यटन काज बिदाका लागि गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट व्यावस्था गरिने वलीले बताए । त्यसैगरी संघीय सरकारको घोषणा तथा गाउँपालिकाको क्षमताअनुसार बालविकास सहायक कार्यकर्ता तथा विद्यालय कर्मचारीको तलब वृद्धि गरिने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology