Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

घट्यो फापर खेती

घट्यो फापर खेती

  • 126
    SHARES
  • घट्यो फापर खेती

    बाग्लुङ लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै  गएको छ । बाग्लुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ ।

    व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । रैथाने बाली फापरको आँटो, ढिडो, रोटीलगायत परिकार उपभोग गर्ने गरेकामा पछिल्लो समय आयातित खानेकुराको प्रयोग हुन थालेपछि यसको खेती कम हुन थालेको पाइन्छ । 

    फापरका परिकार उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि अति उत्तम मानिन्छन् । बाग्लुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ ।

    स्थानीय तीर्थबहादुर बुढामगर पहिला गाउँका हरेक किसानले आफ्नो एक-दुई रोपनीमा भए पनि फापर खेती गर्ने गरेकामा हाल त्यसको ठाउँमा गहुँ र मकै लगाउने गरिएको छ । 

    उनले भने, ‘अहिले कमैले मात्र फापर खेती गर्ने गरेका छन् । हामी फापरकै आँटो, ढिडो र रोटी खाएर हुर्किएका हौँ, अहिले गाउँमा फापर खेती गर्न छाडे ।’

    फापर बारीमा अन्य खेती हुन थालेको स्थानीय निमबहादुर विकले बताए । उनले भने, ‘पहिला रातो र कालो जातको फापर राम्रै फल्थ्यो, आजभोलि निकै कम फल्ने गरेको छ ।’

    फापर खेती गर्ने बारीमा केही वर्ष मकै र जौँखेती गरेको तथा त्यसपछि फापर नै लगाउँदा उत्पादन कम भएको विकले बताए ।

    फापरको उत्पादन घटेपछि चार वर्षदेखि यसको खेती गर्न छाडेको विकको भनाइ छ । मेहनत गरे पनि उत्पादन न्यून हुँदा फापर खेतीप्रति स्थानीयको आकर्षण घटेको उनी बताउँछन् ।

    उनले भने, ‘फापरको बीउ जोगाउन गाह्रो हुन थालेको छ ।’ अचेल फापरका परिकार गाउँमा पाक्न छाडेका छन् । मेला-महोसत्वमा मात्र फापर सीमित भएको छ ।

    बाग्लुङमा अहिले ८५ हेक्टर क्षेत्रफलमा फापर खेती हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनमगरले जानकारी दिए ।

    उनका अनुसार हरेक वर्ष एक सय २० मेट्रिक टन फापर उत्पादन हुने गरेको छ । फापर बाली संरक्षणका लागि ‘रैथाने बाली संरक्षण’ कार्यक्रम सञ्चालन गर्ने, उन्नत जातका बीउ वितरण र किसानलाई प्रोत्साहन गर्ने सूचना अधिकारीले पुनमगरले बताए ।

    उनले भने, ‘हरेक वर्ष फापर खेती घट्दै गएको छ ।’

  • सम्बन्धित विषय:

  • # फापर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij