नयाँ दिल्ली । छठ पर्वको अन्तिम दिन बिहान उदाउँदो सुर्यलाई अर्घ्य दिएर फर्कँदै गरेका भारतको बिहार राज्यमा पर्ने लखिसराय जिल्लाका एक परिवारका ६ जनामाथि गोली प्रहार भएको छ ।
गोली प्रहारबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । अन्य चार जनाको गम्भीर घाइते छन् । गम्भीर घाइतेलाई उपचारका लागि विहारको राजधानी पटनास्थित अस्पताल पठाइएको छ ।
छठ पुजा सकेर घाटबाट फर्कँदै गरेको बेला पुरै परिवारमाथि गोली हानिएको थियो । लखिसरायका प्रहरी प्रमुख एसपी पंकज कुमारले आशिष चौधरी भन्ने व्यक्तिले गोली हानेको बताएका छन् । आस्था र निष्ठापूर्वक मनाइने छठ पर्वका बेला भएको गोली काण्डले त्यस क्षेत्रमा निकै त्रास बढाएको छ ।
प्रहरीका अनुसार गोली काण्ड प्रेम प्रसंगसँग जोडिएको छ । गोली हान्ने चौधरीले प्रेमीका र उनको पुरै परिवारमाथि गोली चलाएका थिए । गोली लागेर मृत्यु हुने राजनन्दन र चन्दन झा दाजुभाइ हुन् । गोली लगेर शशिभूषण झा, प्रिती देवी, लवली झा र दुर्गा झा घाइते भएका छन् । दुर्गासँग एकतर्फी प्रेम सफल हुन नसकेपछि चौधरीले गोली हानेको प्रारम्भीक अनुसन्धानबाट खुलेकाे प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology