मुगु । मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यामिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना भएको छ ।
मधुवन प्रकाशन, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न संघ संस्था र दाताको सहयोगमा जिल्लामै पहिलोपटक स्थापित सो पुस्तकालयको सांसद ऐनबहादुर शाहीले आइतबार शुभारम्भ गरे ।
पुस्तकालय स्थापनार्थ मुगुस्थित मष्टा समाजसेवी युवा क्लबले विशेष अभियान सञ्चालन गरेको थियो । हालसम्म उक्त पुस्तकालयमा विभिन्न विधाका लगभग दुई हजार ४०० पुस्तक संकलन भइसकेको जनाइएको छ ।
२०१६ मा स्थापित सो विद्यालयमा हाल करिब नौ सय विद्यार्थी अध्ययनरत छन । सो अवसरमा सांसद शाहीले पुस्तकालयको आफ्नै भवन निर्माण र पुस्तकालयका लागि आवश्यक थप पुस्तक व्यवस्था गर्न आफूले सहयोग गर्ने जानकारी दिए ।
सो अवसरमा गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाही, जिल्ला समन्वय समितिका सदस्यद्वय कर्णप्रसाद माठागाई र ध्रुव विश्वकर्मा तथा खत्याड-७ का वडाध्यक्ष गोविन्दप्रसाद सञ्ज्याल, विद्यालयका प्रधानाध्यापक टंकप्रसाद सञ्ज्याल, क्लबका अध्यक्ष नरबहादुर रावत तथा अभियानका संयोजक टेकेन्द्र उपाध्यायले पुस्तकालयलाई सहयोग गर्न सबैसित आग्रह गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology