वेबटिभी खबर
तनहुँ । तनहुँमा डेंगु संक्रमितको संख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन ।
डेंगुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधी पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ । दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५ डेंगु संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेंगुबाट संक्रमित छन । १४ वडा रहेको व्यास-१ मा एक हजार पाँच सय ८२, वडा नं-२ मा एक हजार तीन सय ९२, वडा नं-४ मा एक हजार ३७, वडा नं-३ मा छ सय ५२ तथा वडा नं-५ मा दुई सय ७२ डेंगु संक्रमित रहेका छन ।
त्यसैगरी व्यास-१० मा दुई सय छ, वडा नं-११ मा एक सय ७५, वडा नं-६ मा ९६, वडा नं-१३ मा ९१, वडा नं-९ मा ८३, वडा नं-७ मा ७९, वडा नं-१२ मा ७४, वडा नं-१४ मा ३७ र वडा नं-८ मा १४ डेंगु संक्रमित छन ।
चाडपर्वको समयमा डेंगु संक्रमणले जनजीवन प्रभावित बनाएको व्यास-२ का वडाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिए । डेंगुबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन ।
लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बरालले बताए । चिकित्सकको परामर्शअनुरुप औषधी सेवन गर्न, झोझिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उनले सुझाव दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij