Logo

२०८०, फाल्गुण १७ गते बिहिवार

२०८०, फाल्गुण १७ गते बिहिवार

चिसो बढेसँगै श्वासप्रश्वासका बिरामी बढे

चिसो बढेसँगै श्वासप्रश्वासका बिरामी बढे

  • 89
    SHARES
  • चिसो बढेसँगै श्वासप्रश्वासका बिरामी बढे

    महोत्तरी । चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको संख्या बढेका छन ।

    images

    एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी  बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा.किशोर अधिकारीले बताए ।

    अहिले दैनिकजसो सरदर ३०/४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उनले जानकारी दिए ।

    ‘यो बितेको सातादेखि नै अस्पतालमा बिरामी बढेका छन्, अहिलेका बिरामीमा श्वासप्रश्वास र हाडजोर्नी दुख्ने समस्याका बढी भेटिएका छन्’, डा.अधिकारीले भने, ‘खासमा बढ्दो चिसोमा आवश्यक सावधानी र सम्भार नअपनाइँदा बिरामी बढ्ने गरेका हुन् ।’

    यस्ता बिरामीमा ग्रामीण बस्तीका वृद्धवृद्धा र महिला बढी रहेका जनाइएको छ । मौसमअनुसार खानपान अन्य आहारव्यहारमा ध्यान नदिँदा श्वासप्रश्वास, हाडजोर्नी दुख्ने र आँखाका बिरामी बढेका अस्पतालका मेडिकल अधिकृत डा.चन्द्रमणि खत्रीको भनाइ छ ।

    जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ ।

    जिल्लाका सबैजसो मुख्य सडकमा उड्ने धुलो, जाडो छल्न प्लाष्टिक, भिजेका पतिङ्गर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’को धुँवाले श्वासप्रश्वास र आँखाको समस्या बढाएको स्वास्थ्य कार्यालय महोत्तरीका निमित्त प्रमुख सुनिता गुप्ताले जानकारी दिइन् ।

    जिल्लाको मध्य र दक्षिणी भेगमा यस्तो समस्या दलित र गरिबका झुपरबस्ती (पराले झुप्राका बस्ती)मा बढी देखिएको उनको भनाइ छ ।

    चिसो बढेसँगै धुलो र धुँवाका कारण बढेको स्वास्थ्य समस्या आहारव्यवहारबाट नियन्त्रण गर्न सकिने चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ ।

    ‘हेर्नुहोस्, घरबाट निस्कनासाथ जताततै धुलो उडिरहेको देखिन्छ, तर आम नागरिक मास्क लगाउने गर्दैनन्’, स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भने, ‘यसले गर्दा श्वासप्रश्वाससँगै जटिल स्वास्थ्य समस्या बढ्ने गर्छन् ।’

    आहार, निद्रा, आन्तरिक र बाह्य सरसफाइ, श्रम तथा  मौसमअनुसार लवाइ सन्तुलित गरे हम्मेसी कुनै स्वास्थ्य समस्या नआउने उनले बताए ।

    यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन ।

    घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, बिहान-बेलुका अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन ।

    यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने स्वास्थ्य कार्यालय  प्रमुख गुप्ताले बताए ।

    चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा बिहान–बेलुका जाडो छल्ने उपायका लागि काम गर्न स्थानीय तहसँग सामाजिक संघ संस्थाले आग्रह गरेका छन ।

    मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ।

    यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology