वेबटिभी खबर
कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले संघीयताबिना देश अगाडि बढ्न नसक्ने बताएका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरबमा आज आयोजित प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको साधारणसभा तथा मिडिया सम्मेलनमा उजले संघीय सरकारले संघीयताको मर्मअनुसार कार्य गर्नुपर्ने बताए ।
संघीयताबारे भ्रम फैलाएर बदनाम गर्न खोजिएको उल्लेख गर्दै उपाध्यक्ष सापकोटाले जनताको अपेक्षाअनुसार अगाडि बढ्नुको विकल्प नरहेको बताए ।
उनले भने, ‘जहिले पनि पार्टी नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेको छ । बत्तीस सिटमा पार्टी खुम्चिनुका कारण वर्गीय धरातल छोड्दा नै हो, पार्टी नेता दलाल, माफियाको घेराबन्दीमा पर्दा जनसङ्घर्षका सहिद परिवार, अपाङ्गता भएका व्यक्ति र घाइतेलाई बिर्सियौँ ।’
अहिलेको आवश्यकता सामाजिक, राजनीतिक, वैचारिक, सांस्कृतिक संगठन गठन पर्नुरहेको नेता सापकोटाले बताए ।
उनले भने, ‘विसं २०६७ मा अग्रगामी छलाङमार्फत पार्टीले राजनीतिक विष्लेषण गर्यो । त्यसपछि पार्टीमा कुनै पनि राजनीतिक विष्लेषण भएको छैन, विचारको विकास भएन भने शून्यता हुन्छ, वैचारिक संलेष्ण छोड्दा पछाडि पर्यौँ ।’
परिस्थितिजस्तो छ त्यसकै बीचबाट पार्टीलाई अगाडि बढाइनुपर्ने पूर्वसभामुख सापकोटाले बताए । विचार र विधिको विकास गरे पार्टीलाई पहिलेजस्तै अगाडि लैजान सकिने उनको भनाइ छ ।
उनले भने, ‘पर्ख र हेरको नीतिले अब काम गर्दैन, विज्ञान र दर्शनको विकास गर्नुपर्छ । सबै कुरामा आत्मनिर्भर हुनु जरुरी छ ।’
संविधानमा समाजवाद शब्द राखिए पनि त्यसको व्याख्या गर्न बाँकी रहेको उनले बताए । सामाजिक न्यायसहितको समाजवाद पार्टीभित्रबाटै लागू गर्नुपर्ने उनले उल्लेख गरे ।
आधुनिक समाजवादभित्र कृषि, उद्योग, विज्ञान, प्रविधि र राष्ट्रिय सुरक्षाको प्रश्न अहम् रहेको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij