वेबटिभी खबर
कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संघीयता कर्णालीवासीका लागि वरदान सावित भएको बताएका छन् ।
ऋति फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन गरिएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ पाँचौँ संस्करणको उद्घाटन गर्दै उनले संघीय व्यवस्थाकै कारण यहाँका नागरिकको जीवनस्तर माथि उठेको र यसले विचार र विमर्शको थालनी गरेको उल्लेख गरे ।
उनले संविधानले व्यवस्था गरेका साझा तथा एकल सूचीका अधिकारको भरपुर उपयोगले संघीयता अझ बलियो बन्ने बताए ।
उनले भने, ‘तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम गरेर अगाडि बढ्नुपर्दछ । त्यो हुनसकेमात्र कर्णालीको जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारको विकास हुनसक्छ ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा कर्णालीलाई चिनाउन गरिएको उत्सवः कुडा कर्नालीले थालेको बहसले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको उनको भनाइ छ ।
तीन दिनसम्म सञ्चालन हुने उत्सवमा प्रकोप र पुनःनिर्माण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ ।
कर्णालीको रुपान्तरणका लागि चिन्तनका साथै गन्थन, मन्थनबाट कर्णाली केलाइने आयोजक संस्था ऋति फाउण्डेशनले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij