वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै वर्तमान सभापति शेरबहादुर देउवा इतर समूहले आफ्नो पक्षबाट साझा उम्मेदवार बनाउने प्रयास थालेका छन् ।
सोही क्रममा शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच छलफल भएको छ । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु अर्जुन नरसिंह केसी, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसी सहभागी थिए ।
छलफलमै सहभागीमध्ये अर्जुन नरसिंह केसी, रामशरण महत र बलबहादुर केसी बाहेक सबैले आफू सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । अर्जुन नरसिंह केसीले राष्ट्रिय राजनीति र कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको बताए ।
उनले सकेसम्म समग्र पार्टीमा एकताको प्रयास गर्ने नभए कम्तीमा पनि आफूहरु एक भएर अघि बढ्नुपर्ने विषयमा छलफल भएको उल्लेख गर्दै यस विषयमा निरन्तर छलफल गर्ने सहमति भएको जानकारी दिए ।
कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij