वेबटिभी खबर
काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका–२७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ ।
१९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनःनिर्माणमा गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबीच केही समय हानथाप भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनःनिर्माण थालिएको वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए ।
ऐतिहासिक महत्वको यो सम्पदा दुई करोड ४९ लाख ३७ हजारमा मा पुनःनिर्माण थालिएको उनले बताए । तीन वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ । यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ ।
यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ । २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेको उनको भनाइ छ । ल्हासा–काठाडौँ यात्राका क्रममा कुनै रोगको सङ्क्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्तबास बसेका आफूले पनि देखेको वडा अध्यक्ष खड्गीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij