काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई आइपीओ विक्री गर्ने भएको छ । सर्वसाधारणका लागि रू १२ करोड बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गर्न लागेको हो ।
आयोजना प्रभावित स्थानीमा कम्पनीले प्रतिकित्ता रू १०० अंकित दरको रू ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी गर्न लागेको हो । यो आइपीओ खरीदका लागि छिटोमा साउनमा १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २ गतेसम्म यो आइपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको आइपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । उक्त आइपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै यो शेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बंगलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङ्लुङ, तेह्रथुम र जलविद्युत् आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology