Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

वर्षा लक्षित ४१ स्थानमा सशस्त्र प्रहरीकाे मनसुन प्रतिकार्य वेश स्थापना

वर्षा लक्षित ४१ स्थानमा सशस्त्र प्रहरीकाे मनसुन प्रतिकार्य वेश स्थापना

  • 106
    SHARES
  • वर्षा लक्षित ४१ स्थानमा सशस्त्र प्रहरीकाे मनसुन प्रतिकार्य वेश स्थापना

    काठमाडाैं ।  मनसुन शुरु भएदेखि काठमाडौं उपत्यका सहित सशस्त्र प्रहरी बल नेपालले देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी वेश स्थापना गरेको छ । काठमाडौं उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य वेश स्थापना गरिएको छ । 

    त्यसैगरी कोशी प्रदेश अन्तर्गत मोरङको बखरी र ओखलढुंगाको हर्कपुर, मधेश प्रदेशस्थित सप्तरीको भारदह र बर्साइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरिया, बाग्मती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मंगलटार, नुवाकोटको खरानीटार, चितवनको भालढुंगा, दोलखाको लिंकन बजार र सिगंटी तथा रसुवाको तातोपानीमा वेश स्थापना गरिएको छ ।

    त्यस्तै गण्डकी प्रदेश अन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पूर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रूपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूरपश्चिम प्रदेशस्थित कैलालीको खानी डाँडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा वेश स्थापना गरिएको छ । 

    आपत् विपद्मा परेका आम नागरिकहरूको उद्धार कार्यमा सहज होस् भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल नेपालले वर्षाको कारण जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी उक्त वेशहरूमा विपद् उद्धार सामाग्री सहितको सुरक्षा फौज तयारी हालतमा राखेको छ । 

    यसअघि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहने भएकोले देशभरी १ लाख ६८ हजार ९ सय ५६ जना विपद् सूचक तयार गरेको छ ।आपत् विपद्मा परेका नागरिकहरूको उद्धार तथा सहयोगमा सुरक्षाकर्मी सहित कसरी परिचालन हुने तथा खबर आदानप्रदान कस्तो अवस्थामा गर्ने  भन्ने बारे जानकारी गराइएको छ  ।

    उनीहरूले मनसुनको बेला विपद्मा परेका आम नागरिकहरूको उद्धारको लागि नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाललाई जानकारी गराउनत साथ विपद् उद्धार सामाग्री सहितको सुरक्षा फौज परिचालन हुनेछ । 

    त्यसैगरी देशभर ९ सय ९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिइएको छ । जसअन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले १ सय ८०, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले ९४, नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले २ सय २७, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५०, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले १ सय ४३, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीले २५, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले ७३, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले १ सय २ र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौले ९६ जनालाई विपद् स्वयंसेवक तालिम दिएको छ । 

    त्यस्तै सशस्त्र प्रहरी बल नेपालले आफ्नो वेबसाइट मार्फत आपत् विपद्मा परेका नागरिकहरूको तत्काल उद्धार तथा सहयोग गर्नको लागि टोल फ्रि नम्बर १११४ तथा सशस्त्र प्रहरी बल नेपालको कार्यालय तथा कार्यालय प्रमुखहरुको नम्बर समेत उल्लेख गरेको छ । यसबाट विपद्मा परेका नागरिकहरुले तत्कालै उद्धारको लागि सम्पर्क गर्न सकिने सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij