वेबटिभी खबर
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने तयारी गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को अधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएपछि अल्पमतमा परेका पोखरेलले विश्वासको मत लिने भएका हुन् ।
‘प्रदेश सरकारले केही दिनभित्रै विश्वासको मत लिन्छ । यसका लागि तयारी भइरहेको छ,’ सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने, ‘जहाँसम्म विश्वासको मत पाउँछौं । विश्वासको मत नपाए प्रतिपक्षमा बस्छौं ।’
८३ सदस्यीय प्रदेशसभामा एमालेका ३८ र जसपाको महन्थ ठाकुर पक्षका तीन सांसदको समर्थन पोखरेल नेतृत्वको वर्तमान सरकारलाई रहेकोमा जसपाको आधिकारिकता यादव पक्षले पाएसँगै पोखरेल अल्पमतमा पर्ने देखिएको हो ।
जसपाको विवाद टुंगिएर यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि ठाकुर पक्षका तीन सांसदको मत पनि विपक्षी गठबन्धनलाई हुने सम्भावना छ ।
ठाकुर पक्षका तीन जना मन्त्रीलाई मंगलबार नै जसपाले कारबाही गरिसकेको छ । यसले पोखरेललाई अल्पमतमा पारेको छ । विपक्षी गठबन्धनबाट कुलप्रसाद केसी मुख्यमन्त्रीमा प्रस्ताव भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij