वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न मातहतका सबै इकाइलाई निर्देशन दिएका छन् ।
आसन्न दशैँ, तिहार, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामनासँगै शुक्रबार प्रधान कार्यालयबाट मातहत सबै इकाईलाई उनले यस्तो निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरीको गौरवमय परम्परालाई जीवन्त राख्दै देशका हरेक भेगमा तथा अन्तर्राष्ट्रिय शान्ति मिसनहरूमा अहोरात्र शान्ति, सुरक्षा र उद्धारमा समर्पित सकल दर्जालाई शुभकामना व्यक्त गर्दै आसन्न महान चाडहरूले आपसी सद्भाव र भाइचाराको विकासमा योगदान गर्ने विश्वास व्यक्त गरे ।
अर्यालले हालैको जेन–जी आन्दोलनमा ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदानको कामना पनि गरे । आन्दोलनमा घाइते भएका सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी फागुन २१ गते तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउनका लागि पूर्व तयारी सुरु गर्न मातहत इकाईलाई निर्देशन दिए ।
आम नागरिकले नजिकिएका पर्वहरू सुरक्षित मनाउन पाउने सुनिश्चितताका लागि चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी कार्यान्वयनका लागि उनले निर्देशन दिए । सीमा नाकाबाट चाड मनाउन स्वदेश फर्कने नागरिकलाई सम्मानजनक र सुरक्षित आवागमनका लागि प्रभावकारी व्यवस्था मिलाउन पनि उनले सोही क्रममा निर्देशन दिएका थिए ।
चाडपर्वको बेलामा हुनसक्ने सडक दुर्घटना, बाढीपहिरो, आगलागीजस्ता विपद् आइपर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उद्धार टोलीलाई तयारी अवस्थामा राख्न उनले सबै इकाइलाई निर्देशन दिए ।
भन्सार नाकाहरूबाट हुन सक्ने राजस्व चुहावट नियन्त्रण गर्न सके राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुग्नेतर्फ पनि महानिरीक्षकले गम्भीर हुन भनेका छन् । उनले चाडपर्वको बेला चोरी तस्करी बढ्न सक्ने हुँदा राजश्व चुहावट नियन्त्रणको लागि थप सक्रियता बढाउन निर्देशन दिए ।
अप्ठ्यारो परिस्थितिमा उत्कृष्ट कार्य गर्न जरुरी रहेको उल्लेख गर्दै उनले उच्च मनोबल लिएर कार्यक्षेत्रमा आउनसक्ने चुनौती सामना गर्न एकजुट भई योजना बनाउन मातहत कमाण्डरहरूलाई निर्देशन दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij