Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने

कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने

  • 149
    SHARES
  • कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट पारेको छ । सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा महाधिवेशन र वडा अधिवेशन सर्ने हल्ला चलाइएको भन्दै समितिले कुनै पनि हालतमा कार्यतालिका प्रभावित नहुने जनाएको हो । 

    बुधबार केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले तोकिएकै मिति (असोज ३ गते) मा वडा अधिवेशन प्रारम्भ हुने बताए । उनले संविधान, पार्टी विधान र सर्वोच्च अदालतको फैसलाअनुसार पनि अधिवेशन सार्ने कुनै आधार नभएको स्पष्ट पारे । खड्काले ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू खटिसकेको र अधिकांश वडामा मतदान अधिकृतहरू समेत पुगेर तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । 

    पत्रकार सम्मेलनमा बोल्दै संयोजक खड्काले भने, ‘अहिले यो १५औँ महाधिवेशन जुन अगाडि बढिराखेको छ, तपाईंहरूले एउटा होसपूर्वक के हेरिदिनु पर्यो भने मैले हिजो एउटा विज्ञप्ति जारी गरेको थिएँ । त्यो विज्ञप्तिलाई पनि तोडमोड गरेर यो अधिवेशन सर्दै छ भन्ने कुरा फेसबुकमा सबै ठाउँमा आएको छ । तर यो अधिवेशन सर्ने अवस्था होइन । हाम्रो ३ गते जुन वडा अधिवेशन हुँदै छ, त्यो सर्दैन, अगाडि बढ्छ ।’ उनले सर्वोच्च अदालतको आदेश र विधिको शासनलाई आधार मान्दै अधिवेशन सार्न नसकिने बताए । 

    उनले भने, ‘हामी संवैधानिक सर्वोच्चता र विधिको शासन भन्छौँ । संविधानले पनि चार वर्ष पाँच वर्षभन्दा अगाडि कुनै हालतमा जान सक्दैन भनेको छ । दोस्रो कुरा, सर्वोच्च अदालतले रिट खारेज गर्दाखेरि निर्वाचनको तालिका समेत आइसकेको कारणबाट रिट जारी हुँदैन भनेर फैसलामा लेखेको छ । हामी अदालतको व्याख्या र फैसलाको विरुद्ध जान सक्दैनौँ। नजाने भएकै कारणले पनि यो अधिवेशन सर्दैन ।’ संघीयताको मूल मर्मलाई आत्मसात् गर्दै निर्वाचन प्रक्रिया विकेन्द्रित गरिएको जानकारी दिँदै उनले जिल्ला सभापतिहरूसँग समन्वय गरेर प्रत्येक वडामा मतदान अधिकृतहरू खटाइएको बताए । 

    ‘संविधानको बमोजिम संघीयता पनि हाम्रो मूल मर्म हो। त्यही अनुसार सात प्रदेशमा सातवटा कमिटी र सातै प्रदेशका कमान्डरहरू तोकेको छु। उहाँहरूकै सिफारिसमा ७७ जिल्लामा निर्वाचन अधिकृतहरू तोक्यौँ र उहाँहरू आ–आफ्नो जिल्लामा पुगिसक्नुभएको छ। जिल्ला सभापतिहरूसँग समन्वय गरेर प्रत्येक वडामा मतदान अधिकृतहरू खटाइएको छ। त्यसैले चुनाव हुँदैन कि सर्छ कि भन्ने कुनै गुन्जायस छैन,’ उनले भने । पत्रकारहरूको जिज्ञासामा संयोजक खड्काले केन्द्रीय महाधिवेशन सम्पन्न गर्न आवश्यक मतदाता तयार भएपछि जिल्ला र प्रदेश अधिवेशन क्रमशः गरिने बताए । साथै धादिङ, नुवाकोट तथा रसुवाका केही अप्ठ्यारा ठाउँहरूमा समेत स्थानीय परिस्थितिको मूल्यांकन गरी अधिवेशन सम्पन्न गर्ने तयारी मिलाइएको उनको भनाइ थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij