Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एसियाली राजमार्ग अन्तर्गत ओभरपास निर्माण सुरु भएसँगै मुख्य सडक अस्तव्यस्त

एसियाली राजमार्ग अन्तर्गत ओभरपास निर्माण सुरु भएसँगै मुख्य सडक अस्तव्यस्त

  • 84
    SHARES
  • एसियाली राजमार्ग अन्तर्गत ओभरपास निर्माण सुरु भएसँगै मुख्य सडक अस्तव्यस्त

    काठमाडौं । एसियाली राजमार्गअन्तर्गत बिर्तामोड खण्डमा ओभरपास निर्माणको काम सुरु भएसँगै मुख्य सडक अस्तव्यस्त बनेको छ । लामो समयसम्म निर्माणको तयारीमा रहेको काम म्याद नजिकिँदै गएपछि अघि बढाउँदा पछिल्ला दिनमा परेको वर्षासँगै सडकमा हिलो, पानी र सवारी चाप बढेर आवागमनमा समस्या भएको स्थानीयको गुनासो छ । बिर्तामोडको व्यस्त मुक्तिचोक क्षेत्रमा ओभरपास निर्माणका लागि सडक संरचनामा काम सुरु भएपछि पैदलयात्रु, दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको छ ।

    निर्माणस्थलमा पर्याप्त व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ । स्थानीयवासी देवेन्द्र प्रसाईले विकास निर्माणका काम आवश्यक भए पनि समयमा काम सम्पन्न नहुँदा सर्वसाधारणले लामो समयदेखि सास्ती व्यहोर्नुपरेको बताए । उनले निर्माणस्थल व्यवस्थित गरी कामलाई तीव्रता दिन आग्रह गरे । त्यस्तै स्थानीयवासी राजु श्रेष्ठले सडक निर्माणका कारण दैनिक आवतजावतमा समस्या भएको बताउँदै निर्माण कम्पनी र सम्बन्धित निकायले कामलाई गति दिनुपर्ने बताए । उनले निर्माणका क्रममा सर्वसाधारणलाई कमभन्दा कम असर पर्ने गरी सडक तथा ट्राफिक व्यवस्थापन गर्न आग्रह गरे ।

    सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवी प्रसाद संग्रौलाले पनि निर्माण कार्यमा भएको ढिलाइका कारण सवारी व्यवस्थापनमा चुनौती थपिएको बताए । व्यस्त बजार क्षेत्रमा निर्माण भइरहेकाले सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै काम छिटो सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । उनीहरुले निर्माणको विरोध नभई समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । विकासका लागि निर्माण आवश्यक भए पनि निर्माणस्थल लामो समयसम्म अस्तव्यस्त रहँदा व्यवसायी, स्थानीयवासी, पैदलयात्रु तथा सवारी चालक सबै प्रभावित हुने भएकाले सम्बन्धित पक्षले विशेष ध्यान दिनुपर्ने उनीहरूको माग छ।

    एसियाली राजमार्ग परियोजना पूर्वीखण्डका प्रमुख इन्जिनियर सुनिलबाबु पन्तले भने स्थानीयवासीबाट गुनासो आएको स्वीकार गर्दै निर्धारित समयमा काम सम्पन्न गर्न आफूहरूले निर्माण कम्पनीलाई निरन्तर दबाब दिइरहेको बताए। ‘स्थानीयवासीको गुनासो आएको छ । समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई दबाब दिइरहेका छौँ। निर्धारित समयमा काम गर्न नसके ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन जेभीमाथि आवश्यक कारबाही गर्न हामी पछि पर्दैनौँ,’ इन्जिनियर पन्तले भने ।

    आयोजना प्रमुख पन्तका अनुसार निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई आवश्यक निर्देशन दिइएको छ । निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै कामको गति बढाउन आयोजना कार्यालयले अनुगमन तथा समन्वय गरिरहेको उनको भनाइ छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले ओभरपास निर्माणमा भएको ढिलाइका कारण नगरवासीले असहजता व्यहोर्नुपरेको बताइन् । नगरपालिकाले कामलाई छिटो र व्यवस्थित बनाउन सम्बन्धित पक्षसँग पटकपटक ताकेता गर्दै आएको उनले जानकारी दिइन् ।

    उनका अनुसार बिर्तामोडको मुख्य बजार क्षेत्र भएकाले निर्माण कार्यले सर्वसाधारण र व्यवसायीलाई प्रत्यक्ष असर पारिरहेको छ । नगरपालिकाले आयोजना पक्षसँग समन्वय गर्दै निर्माणस्थलमा आवश्यक व्यवस्थापन गर्न आग्रह गर्दै आएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले पनि ओभरपास निर्माणको आवश्यकता भएपनि काम सुरु गर्ने समय र निर्माणको गतिका कारण व्यवसायी समस्यामा परेको बताए । उनका अनुसार बिर्तामोडको मुक्तिचोकमा रहेको शहीद स्तम्भसमेत करिब छ महिनाअघि नै हटाएर निर्माण सुरु गर्ने तयारी गरिएको थियो। तर निर्माण प्रक्रिया अघि बढ्न समय लाग्दा व्यवसायीले अपेक्षित रूपमा व्यवसाय सञ्चालन गर्न नसकेको उनको भनाइ छ।

    काँकडभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक स्तरोन्नतिसँगै विभिन्न स्थानमा ओभरपास निर्माण भइरहेको छ । बिर्तामोडको मुक्तिचोकमा बन्ने ओभरपासले व्यस्त बजार क्षेत्रको सवारी चाप व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजनाको समग्र काम भने विभिन्न कारणले अपेक्षित गतिमा अघि बढ्न नसकेको आयोजना पक्षले जनाएको छ । सडक निर्माणसँगै विद्युतका पोल तथा अन्य संरचना व्यवस्थापन, जग्गा तथा संरचना सम्बन्धी विषय र शहरी क्षेत्रमा निर्माण गर्दा उत्पन्न हुने प्राविधिक तथा व्यवस्थापकीय चुनौतीले पनि काममा प्रभाव पारेको जनाइएको छ ।

    यसअघि नै निर्माणका लागि आवश्यक तयारी थालिए पनि मुख्य संरचनाको काम ढिलो गरी सुरु हुँदा अहिले निर्माण कम्पनीमाथि समयभित्र काम सम्पन्न गर्ने दबाब बढेको छ। त्यसमाथि पछिल्ला दिनमा परेको वर्षाले निर्माणस्थलमा थप समस्या सिर्जना गरेको छ। वर्षाका कारण सडकमा पानी जम्ने र हिलो हुने समस्या बढेको छ। निर्माणस्थलमा सवारी साधनको गति तथा आवागमनको बाटो परिवर्तन गर्नुपर्दा व्यस्त समयमा ट्राफिक व्यवस्थापन झनै चुनौतीपूर्ण बनेको स्थानीयको भनाइ छ। स्थानीयवासीले निर्माण कार्यलाई अवरोध गर्नेभन्दा पनि निर्माणको गति बढाएर निर्धारित समयमै सम्पन्न गर्नुपर्ने माग गरेका छन्। निर्माणस्थलमा अस्थायी सडक, पर्याप्त ट्राफिक संकेत, पैदलयात्रुका लागि सुरक्षित मार्ग तथा पानी निकासको उचित व्यवस्था गर्नसमेत उनीहरूले आग्रह गरेका छन्।

    आयोजना पक्षले भने निर्माणको गति बढाउँदै स्थानीयवासीले उठाएका समस्यालाई समेत सम्बोधन गर्ने जनाएको छ । आयोजना प्रमुख पन्तले निर्माण कम्पनीले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसके सम्झौताअनुसार आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारे । स्थानीयवासी, व्यवसायी र नगरपालिकाले पनि निर्माण कार्य छिटो सम्पन्न भएमा हाल देखिएको असहजता हटाएर अघि बढ्न आग्रह गरेका छन्। बिर्तामोडको मुक्तिचोकबाट ओभरपासको निम्ति ३०० मिटर पूर्व र ३९० मिटर जति पश्चिममा बन्ने आयोजनाका प्रमुख पन्तले बताए। २१÷२१ मिटरको दुई लेनको सडकको ओभरपास र एक मिटर बीचमा खाली रहने गरी काम भइरहेको पन्तले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij