वेबटिभी खबर
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्। यस सम्बन्धी एक सम्झौतामा घले दम्पतिले नेतृत्व गरेको एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी (एमओयू)मा शुक्रबार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको थियो ।
उक्त समारोहमा राष्ट्रिय बाल अधिकार परिषद्की अध्यक्ष पनि रहेकी मन्त्री सीता वादी पनि उपस्थित थिइन्। राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्वर्धन गर्न स्थापित विशिष्टीकृत निकाय हो । सरकारले साविक केन्द्रीय बाल कल्याण समितिलाई राष्ट्रिय बाल अधिकार परिषदमा रुपान्तरण गरेको हो । संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ)ले रसुवा बाढीबाट प्रभावित झन्डै १७,००० बालबालिकालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको आवश्यकता रहेको जनाएको छ।
त्यस्तै अभिभावक वा संरक्षकविहीन तथा परिवारबाट छुट्टिएका ५०० भन्दा बढी बालबालिका उच्च जोखिममा रहेको र उनीहरूलाई संरक्षण सेवाको खाँचो रहेको युनिसेफले जनाएको छ। फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गर्न सहयोग गर्ने जनाएको छ। सहयोगअन्तर्गत बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचारलगायत आधारभूत आवश्यकता पूरा गर्न खर्च गरिनेछ ।सामाजिक संजालमा लेख्दै घलेले बाढीको पानी घटेपछि पनि प्रभावित बालबालिकाको समस्या अन्त्य नहुने बताए। बाढीका कारण कतिपय बालबालिकाको जीवनमा कुनै पनि बालबालिकाले भोग्न नपर्ने खालको परिवर्तन आएको उल्लेख गर्दै उनले आफू र आफ्नी पत्नी ती बालबालिका र उनीहरूका परिवारले भोगेको अवस्थाबाट प्रभावित भएको जनाए।
‘हामी भाग्यमानी महसुस गर्छौं कि कठिन समयमा मात्रै होइन, आगामी वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्न सक्छौं, ताकि उनीहरूले आफ्नो शिक्षालाई निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा होस् र भविष्यलाई आशाका साथ हेर्न सकून्,’ घलेले भने। उनले यो सहयोग रकममा मात्र सीमित नभएको बताए । बालबालिका हुर्कंदै जाँदा दीर्घकालीन रूपमा साथ दिने र उनीहरूले भोगेको कठिनाइले जीवनमा पाउने अवसर निर्धारण नगरोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ। ‘सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूलाई आफूहरूलाई बिर्सिएको छैन भन्ने महसुस गराउन चाहन्छौं,’ घलेले भने । अष्ट्रेलियामा बसोबास गर्ने घले दम्पतिले नेपालमा पांचतारे होटल लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij