वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले आगामी महाधिवेशन केवल नेतृत्व छान्ने विषय मात्र नभई पार्टीलाई समयानुकूल परिवर्तन गर्ने कि पुरानाकै ढर्रामा अघि बढाउने भन्ने निर्णायक अवसर भएको बताएका छन् । विचार प्रधान विचार प्रस्तुत गर्दै महरले नेतृत्वसँगै युगको दिशा तय गर्ने यस्ता अवसरको सदुपयोग गरी नेपाली कांग्रेसलाई बदलिएको कांग्रेसुका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार परिवर्तित कांग्रेस भनेको नयाँ अनुहार मात्र नभई नयाँ सोच, नयाँ संगठन, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कार हो । विगतका पुस्ताको त्याग, संघर्ष र योगदानको जगमै आजको कांग्रेस उभिएको स्मरण गराउँदै उनले अब उक्त जगमा नयाँ पुस्ताको ऊर्जा सिञ्चित गरेर पार्टीलाई हरेक नेपालीको साझा थलो बनाउनुपर्ने बताए । ‘अब नेतृत्वको बहस व्यक्तिमा होइन, दृष्टिकोण र विचारमा हुनुपर्छ। कस्तो कांग्रेस बनाउने भन्ने स्पष्ट जवाफ दिन नसक्ने नेतृत्व परिवर्तनको कुनै अर्थ रहँदैन,’ महरले भने।
संगठनलाई चुनावका बेला भोट माग्ने माध्यममा मात्र सीमित नराखी हरेक दिन जनताको घरआँगनमा पुर्याउनुपर्ने प्रस्ताव अघि सार्दै उनले पुस्तान्तरणलाई नारामा मात्र नभई व्यवहारमै उतार्नुपर्ने बताए। युवाहरूलाई नारा लगाउनमा सीमित नराखी निर्णय प्रक्रियाको मूल तहसम्म पुर्याउनुपर्ने तथा अनुभव, ऊर्जा र संस्कारलाई एकसाथ समेट्नुपर्ने उनको भनाइ छ । राजनीतिलाई जनताको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै उनले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता र उत्पादनजस्ता आधारभूत आवश्यकताका साथै विश्व समाजमा द्रुत गतिमा फैलिरहेको प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)को युगलाई समेत राजनीतिसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याए । पार्टीभित्र पारदर्शिता, स्पष्टता र राज्य सञ्चालनमा जबाफदेहिता कायम नगरी जनताको विश्वास पुनस् प्राप्त गर्न नसकिने स्पष्ट पार्दै महरले कांग्रेसलाई सुशासनको पर्याय बनाउनुपर्ने बताए।
जलवायु परिवर्तन, विपद् व्यवस्थापन, डिजिटल प्रविधि र बदलिँदो विश्व अर्थतन्त्रका विषयमा कांग्रेससँग स्पष्ट दृष्टिकोण हुनुपर्ने उनको जोड छ । ‘१५औँ महाधिवेशनलाई कसको नेतृत्व बनाउने भन्नेमा मात्र सीमित नराखी कस्तो कांग्रेस, कस्तो संगठन र कस्तो नेपाल बनाउने तथा विश्व मञ्चमा नेपाललाई कहाँ पुर्याउने भन्ने बहसमा केन्द्रित गराउनुपर्छ’ महरले भने, ‘पुरानो पुस्ताको अनुभव, संस्कार र संस्थाको अपेक्षालाई जोड्दै जिम्मेवारीपूर्वक जवाफ दिने कांग्रेस बनाउने अभिभारा हाम्रो काँधमा आएको छ, र म त्यो अभिभारा बोक्न पूर्ण रूपमा तयार छु ।’ उनले नेतृत्व मात्र नभई समावेशिताका साथ कांग्रेस नै बदल्ने संकल्प गर्न सबैलाई आह्वानसमेत गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij