वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुने र संविधानले स्थापित गर्न चाहेका संकल्पहरू पूरा हुने बताएका छन् । राष्ट्रपति पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका संकल्पहरू पूरा हुन्छन्, यसका लागि आउनुहोस आज हामी संविधानलाई भाषणमा होइन नागरिकको जीवनमा उतार्ने संकल्प गरौँ’, राष्ट्रपति पौडेलले भने । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक भएको उनको भनाई थियो ।
उनले संविधान कागजमा लेखिएका शब्द वा वाक्य सङ्ग्रहको लिखित दस्ताबेज मात्र नभइ यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा पनि भएको बताए । आजको दिन विपतको पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन भएको बताए । नेपालको संवैधानिक इतिहासमा आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ भन्दै उनले यो गौरवमय क्षणमा सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
साथै, आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई आफूद्वारा आफैँ शासित हुने परिवर्तनका पक्षधर एवम् लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij