वेबटिभी खबर
काठमाडौं । नेपाली कपडा ब्राण्ड ‘चिनो’ले दशैँलाई लक्षित गर्दै झापाको बिर्तामोडमा चारदिने ‘वेयरहाउस सेल’ आयोजना गर्ने भएको छ । बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा असोज १७ देखि २० गतेसम्म सञ्चालन हुने सेलको तयारी पूरा भएको कम्पनीले जानकारी दिएको छ । सेलमा क्याजुअल वेयर, स्ट्रिटवेयर, टिसर्ट, सर्ट, पाइन्ट र ज्याकेटलगायतका पहिरन छुट मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ । आफ्नै कारखानामा उत्पादन गरिएका कपडा कारखानाबाट सिधै ग्राहकलाई बिक्री गरिने भएकाले तुलनात्मक रूपमा सुलभ मूल्यमा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
सेलमा थोक तथा खुद्रा दुवै प्रकारको बिक्री हुने जनाइएको छ । कम्पनीका अनुसार सेल अवधिमा २९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मका पहिरन खरिद गर्न सकिनेछ । पत्रकार सम्मेलनमा विभिन्न मोडलले ‘चिनो’ ब्राण्डका पहिरन प्रदर्शन गर्दै र्याम्प वाकसमेत गरेका थिए । कम्पनीका निर्देशक राजेन्द्र डुम्रेले दशैँअघि नै सेल आयोजना गरिएकाले इटहरीको तुलनामा बिर्तामोडमा बढी ग्राहकको उपस्थिति हुने अपेक्षा गरिएको बताए । ‘दशैँअघि नै सेल लागेकाले इटहरीभन्दा बढी ग्राहक आउने अपेक्षा गरेका छौँ,’ उनले भने ।
युवा पुस्ताले रुचाएको नेपाली ब्राण्ड भएकाले बिर्तामोडको सेल पनि सफल हुने उहाँले बताउनुभयो। ‘नेपालीका लागि नेपाली ब्राण्ड, अहिले यही कुरा हाम्रो मूलमन्त्र भएको छ,’ निर्देशक डुम्रेले भने । चिनोका संस्थापक नवराज बजगाईंले नेपाली उत्पादनलाई विश्वस्तरीय बनाउन आफूहरूले निरन्तर काम गरिरहेको बताए । कुनै समय गार्मेन्ट उद्योगका क्षेत्रमा नेपाली समुदायले बनाएको पहिचानलाई ‘चिनो’मार्फत पुनः स्थापित गर्ने अभियानमा आफूहरू रहेको उनको भनाइ छ । उनले हाल महिलाका पहिरनमा केन्द्रित रहेको चिनोले छिट्टै पुरुषका पहिरनसमेत उत्पादन गर्ने योजना रहेको जानकारी दिए ।
कम्पनीका अनुसार चिनोमा हाल करिब ७ सय जनाले रोजगारी पाएका छन् । रोजगारी पाउनेमध्ये करिब ८० प्रतिशत महिला छन्। युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको ब्राण्डले पहिरनको डिजाइन र गुणस्तरलाई प्राथमिकता दिँदै आएको जनाएको छ । चिनोले यसअघि सुनसरीको इटहरीमा पनि वेयरहाउस सेल आयोजना गरेको थियो । उक्त सेलमा ४० हजारभन्दा बढी ग्राहक सहभागी भएको कम्पनीको दाबी छ । इटहरीमा प्राप्त प्रतिक्रिया तथा ग्राहकको मागलाई आधार बनाएर बिर्तामोडमा सेल आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले दशैँका लागि खरिद गर्ने ग्राहक तथा फेसनमा रुचि राख्ने उपभोक्तालाई सेलमा सहभागी हुन आग्रह गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij