वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका आकांक्षी नैनसिंह महरले पार्टीको आन्तरिक एकता, गुटगत राजनीतिमुक्त संगठन, अवसरको न्यायोचित वितरण, प्रशिक्षणमा आधारित क्रियाशील सदस्यता र नयाँ पुस्ताको सहभागितालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् । काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा महरले कांग्रेसभित्र देखिएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै पार्टी एकताका लागि आफूले लामो समयदेखि पहल गरे पनि ठोस परिणाम आउन नसकेको बताए ।
उनले पार्टी अहिले विभिन्न समूहमा विभाजित भएर महाधिवेशन प्रक्रियामा अघि बढिरहेको जनाए । महरले भने, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा पार्टीभित्र केही अन्योल र विभाजनको अवस्था देखिएको छ । पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरे पनि अहिलेसम्म ठोस परिणाम आउन सकेको छैन । अब कांग्रेसलाई गुटगत राजनीतिबाट मुक्त गर्दै भुइँ तहका कार्यकर्ताको आवाज सुन्ने, अवसरको न्यायोचित वितरण गर्ने र नयाँ पुस्तालाई जोडेर अघि बढाउने मेरो प्रमुख एजेन्डा हो ।’ महरले कांग्रेसको ठूलो पंक्ति भने पार्टीको आधिकारिक प्रक्रियामै रहेको दाबी गर्दै चारतारे झण्डा र रुखको पहिचानसँग जोडिएको कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।
उनले बदलिँदो सामाजिक, आर्थिक र प्राविधिक परिवेशअनुसार कांग्रेसले आफ्नो नीति र संगठनात्मक संरचनालाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याए । प्रविधिको तीव्र विकास, आर्टिफिसियल इन्टेलिजेन्स, जलवायु परिवर्तन, विश्वव्यापीकरण र नयाँ पुस्ताको बदलिँदो अपेक्षालाई सम्बोधन गर्ने नीति कांग्रेसले लिनुपर्ने उनको भनाइ छ । महरले भने, ‘कांग्रेसको ठूलो पंक्ति अहिले पनि पार्टीको आधिकारिक प्रक्रियामै छ । चारतारे झण्डा र रुखको पहिचान बोकेको कांग्रेसलाई अझ बलियो बनाउनुपर्छ । त्यसका लागि बदलिँदो सामाजिक, आर्थिक र प्राविधिक परिवेशअनुसार पार्टीको नीति र संगठनात्मक संरचनालाई पुनः परिभाषित गर्न आवश्यक छ । आर्टिफिसियल इन्टेलिजेन्स, जलवायु परिवर्तन, विश्वव्यापीकरण र नयाँ पुस्ताका अपेक्षालाई सम्बोधन गर्ने गरी कांग्रेसले आफ्नो नीति निर्माण गर्नुपर्छ ।’
महरले नयाँ पुस्ता, विशेषगरी जेनजी र अल्फा पुस्तालाई पार्टीको राजनीतिक प्रक्रियासँग जोड्नुपर्नेमा जोड दिए । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा संयोजन गरेर कांग्रेसलाई अघि बढाउनुपर्ने उनले बताए ।महरले पार्टीको केन्द्र र भुइँ तहबीच दूरी बढेको भन्दै स्थानीय तहबाट आउने सुझाव र सल्लाहलाई पार्टी नेतृत्वले कार्यान्वयन गर्नुपर्ने जनाए । उनले कांग्रेसभित्र राजनीतिक नैतिकता, पारदर्शिता र चरित्रलाई प्राथमिकता दिनुपर्ने बताए । केन्द्रदेखि टोल तहसम्म नैतिक र जनतासँग प्रत्यक्ष जोडिएका नेता कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ । कांग्रेसको १५औँ महाधिवेशन भोलि असोज १८ गतेदेखि सुरु हुँदैछ । महाविधेशन उद्घाटनका लागि काठमाडौंको खुल्लामन्चमा मन्च निर्माण भइरहेको छ । साथै महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौं आउनेक्रम सुरु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij