वेबटिभी खबर
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले काठमाडौं आएका राउटे समुदायका सदस्यहरूलाई भेटेकी छन् । भेटमा मन्त्री बादीले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा आत्मीय संवाद गरेकी हुन् ।
यसअघि सल्यान भ्रमणका क्रममा राउटे बस्तीमै पुगेर उनीहरूको जीवनशैली र समस्या बुझ्ने अवसर पाएकी मन्त्री बादीलाई त्यसबेला समुदायका सदस्यहरूले आफ्नै हातले बनाएका रोटी बेल्ने सामग्री तथा काठका ठेकीलगायत परम्परागत हस्तकलाका सामग्री उपहार दिएका थिए । त्यही भेटको सम्झना गर्दै राउटे समुदायका सदस्यहरू काठमाडौं आएको जानकारी पाएपछि मन्त्री बादी उनीहरूलाई भेट्न पुगेकी हुन् । भेटघाटका क्रममा मन्त्री बादीले प्रधानमन्त्री र आफ्नो संयुक्त तस्बिर तथा मन्त्रालयको तस्बिर छापिएका सामग्रीसँगै साडी, पोते, जुत्तालगायतका आवश्यक सामग्री उपहारस्वरूप प्रदान गरिन् ।
मन्त्री बादीले दिएको सम्मान र सामग्रीप्रति राउटे समुदायका सदस्यहरूले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए। उनीहरूले आफूहरूले पाएका जुत्ता, साडी तथा अन्य सामग्रीबारे बस्तीमा फर्किएपछि समुदायका अरू सदस्यहरूलाई समेत सुनाउने बताएका छन् । भेटघाटका क्रममा राउटे समुदायको बसोबास र मृत्युसंस्कारसँग जोडिएको परम्पराबारे पनि छलफल भएको थियो । राउटे समुदायका सदस्यहरूले आफ्नो समुदायमा कसैको मृत्यु भएमा बस्ती नजिकै खाल्डो खनेर अन्त्येष्टि गर्ने, मृत्युसंस्कारपछि सातदेखि बाह्र दिनसम्म किरिया बस्ने र त्यसपछि पुरानो बसोबास छाडेर अर्को स्थानमा बसाइँ सर्ने परम्परा रहेको जानकारी गराएका थिए । एक स्थानबाट अर्को स्थानमा बसाइँ सरेपछि पनि विभिन्न कारणले पुनः स्थान परिवर्तन गर्ने चलन रहेको उनीहरूले सुनाए ।
यस्तो निरन्तर बसाइँसराइले खानपान, सुरक्षित आवास, स्वास्थ्य, शिक्षा तथा अन्य सेवा प्राप्त गर्न असहज भएको सन्दर्भमा छलफल भएको थियो । मन्त्री सिता बादीले राउटे समुदायको ऐतिहासिक पहिचान, जीविकोपार्जनको इतिहास र यस समुदायको संस्कृति तथा परम्पराको सम्मान गर्दै यसको संरक्षण र प्रवर्द्धनमा नेपाल सरकार लागिरहेको बताइन् । उनीहरूको इच्छाअनुसार सुरक्षित बसोबास, पर्याप्त अन्न, विशेष गरेर बालबालिका, गर्भावस्थामा रहेका महिला, एकल महिला तथा ज्येष्ठ नागरिकको पोषण र राउटे समुदायको जीवनस्तर सुधारका लागि सरकारले गरिरहेको प्रयत्नमा थप के गर्न सकिन्छ भन्ने विषयमा उनले सुझाव मागिन्।
राउटे समुदायका सदस्यहरूले आफूहरू पनि जीवनशैलीमा सकारात्मक परिवर्तन चाहेको र बिस्तारै शिक्षा, स्वास्थ्य र आवासमा परिवर्तन भइरहेको तर त्यसका लागि समुदायका अग्रज र मुखियालाई बुझाउन आवश्यक रहेको बताएका थिए । यससँगै उनीहरूले बस्तीको सुरक्षाका लागि प्रहरी परिचालनमा समन्वय गर्ने, बालबालिका तथा युवालाई खेलकुदका सामग्री उपलब्ध गराउने र विभिन्न स्थानको भ्रमण गराउने विषयमा थप आवश्यकता रहेको बताएका थिए । यस विषयमा मन्त्री बादीले सम्भावनाबारे पनि छलफल गरेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij