काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले संसद छलेर अध्यादेश ल्याउने हिजो पनि गलत र आज पनि गलत भएको बताएका छन्। बुधबार विहान सामाजिक संजाल मार्फत उनले संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याइनु सँधै र जसले ल्याएपनि गलत भएको बताएका हुन्।
मंगलबार मन्त्रिपरिषद् राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएर प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।
‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत, हिजो गलत,आज गलत, सधैं गलत,जसले गरेपनि गलत,’ थापाले भनेका छन्, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन, हुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’
उनले गत वर्ष वैशाखमा यसरी नै अध्यादेश ल्याउँदा समर्थन गर्ने र अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि यो अध्यादेशको विरोध गर्ने हक नरहेको बताएका छन्।
‘संगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन र हुँदैन,’ उनले भने, ‘विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij