काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसमा क्रियाशी सदस्यतामा देखिएको विवाद समधान उन्मुख बनेको छ। लामो समय देखि देखिँदै आएको विवादमा नेताहरु सहमति नजिक पुगेका छन्। साउन ३० गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो।
कार्यदलले बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवादमा करिब सहमति जुटाएको छ। सदस्यतामा सहमति जुटाएर शनिबारसम्म सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी रहेको कार्यदलका एक सदस्यले बताए ।
बिहीबार दिनभर काठमाडौंको एक रिसोर्टमा बसेको कार्यदलले सदस्यता विवाद सुल्झाउन मापदण्डमा सहमति जुटाएको थियो । कार्यदलमा रहेका नेताहरुले बिहीबार साँझ नै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई भेटेर मापदण्डका बारेमा जानकारी गराएका छन् ।
कार्यदलमा क्रियाशील सदस्यताको पुरानो संख्याभन्दा कम हुने गरी वडा तहमा समायोजनलाई मान्ने समझदारी भएको छ । कतिपय वडामा पुरानाभन्दा समायोजनबाट आउनेको संख्या बढी भएको भन्दै विवाद सिर्जना भएको थियो । सदस्यता छानविन समिति सदस्य रहेका पौडेल, आनन्द ढुंगाना र जीवन परियारले कार्यदलमा भएको सहमति कार्यान्वयनको विषयमा सहजीकरण गरिरहेका छन् ।
केन्द्रीय सदस्य लेखक संयोजक रहेको सदस्यता छानविन समितिले करिब डेढ महिना लगाएर साउन १२ मा सदस्यताको प्रतिवेदन सभापति देउवालाई बुझाएको थियो ।
समितिले बारा, सप्तरी, सर्लाही–२, धनुषा–४, रसुवा र सिन्धुपाल्चोकमा देखिएको सदस्यता विवाद टुंग्याउन सकेको थिएन । समितिले बारा र सप्तरीको फाइल नै खोलेको थिएन भने अन्य क्षेत्रमा समायोजनको विवाद चर्को देखिएपछि सहमतिका लागि पार्टी पदाधिकारीलाई सिफारिस गरेको थियो ।
यसअघि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिको सिफारिस अनुसार सहमति खोज्न तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको थियो । पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौलाबीच पटकपटक सहमतिका लागि छलफल भएपनि निष्कर्षमा पुग्न नसकेपछि केन्द्रीय समिति बैठकले सिटौला, रिजाल र लेखकलाई क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी दिएको हो ।
कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसले भदौ १८ बाट वडा अधिवेशन हुने गरी मिति तय गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij