Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कोरोनाको साताव्यापी अवस्था, दैनिक संक्रमित औसत ३ हजार माथि 

कोरोनाको साताव्यापी अवस्था, दैनिक संक्रमित औसत ३ हजार माथि 

  • 634
    SHARES
  • कोरोनाको साताव्यापी अवस्था, दैनिक संक्रमित औसत ३ हजार माथि 

    काठमाडौं । नेपालमा यो साता दैनिक संक्रमित तीन हजारभन्दा बढी पाइएका छन् । कोरोनाको पहिलो लहरमा दैनिक संक्रमित बढीमा पाँच हजार पुगेको थियो । तर, अहिले दैनिक तीन हजार हुनुलाई सामान्य मान्न थालिएको छ । संक्रमणको तेस्रो लहर आउने स्वास्थ्यविज्ञले दाबी गरिरहेका बेला कोरोनाको यो ग्राफलाई सामान्य ठान्नु हानीकारक हुनसक्छ ।

    गत आइतबारदेखि शुक्रबारसम्मको तथ्यांकमा सबैभन्दा बढी सोमबार ३४ सय ५१ जना संक्रमित भएका थिए । देशभर संक्रमणको अवस्था हेरेर विभिन्न रुपमा निषेधाज्ञा लगाइएको भए पनि त्यसको पालना भएको छैन् । खुकुलो बनाइएको भनिएको निषेधाज्ञा कागजमा मात्र सीमित छ ।

    देशभरिमा सबैभन्दा बढी संक्रमित भएको राजधानी काठमाडौंमै निषेधाज्ञा जारी भए पनि भिडभाडमा कुनै कमी छैन् । कुनै कोणबाट काठमाडौंमा निषेधाज्ञा भएको थाहा हुँदैन । 

    साताभर देशमा संक्रमणको अवस्था
    आइतबार (३१, साउन) मा देशभर २ हजार २१२ जनामा संक्रमण पुष्टि भयो भने १ हजार ८६७ जना संक्रमणमुक्त भए । संक्रमणबाट ३३ जनाको निधन भयो । 

    त्यसैगरि सोमबार ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार ३ हजार २७४ जना संक्रमित थपिए । भने १,९२९ जना संक्रमणमुक्त भए । २७ जनाको निधन भयो । बुधबार ३ हजार ४०३ जना संक्रमित भेटिए भने २ हजार १०४ जना निको भए । ४२ जनाको निधन भयो ।

    बिहीबार ३ हजार ७५ जना संक्रमित थपिए । २ हजार १२६ जना निको भए भने ३३ जनाको संक्रमणबाट निधन भयो । शुक्रबार ३ हजार ४२ जनामा संक्रमण पुष्टि भयो भने २ हजार २४४ जना संक्रमणमुक्त भए । 

    दैनिक संक्रमित थपिनेको तुलनामा यो साता निको हुनेको संख्या कम छ । खुकुलो भएको निषेधाज्ञाकै कारण संक्रमण बढेको हो । संक्रमण दर बढेसँगै हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ नाघेको छ । 

    काठमाडौं उपत्यकामा जोखिम बढ्दै 
    निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाका तीन जिलला काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक संक्रमित हुनेको संख्यामा बढोत्तरी भएको छ ।

    अत्यधिक भिडभाड हुने सहरमध्ये काठमाडौं प्रमुख हो । देशकै राजधानी भएकाले पनि अन्य क्षेत्रको दाँजोमा यहाँ चहलपहल बाक्लो हुनु स्वाभाविक नै हो ।

    आइतबार (३१, साउन) काडमाडौं उपत्यकामा ७३९ जना संक्रमित थपिए । सोमबार संक्रमितको संख्या बढेर १ हजार २१ पुग्यो ।
    मंगलबार १०३३ जनामा कोरोना पुष्टि भयो । बुधबार संक्रमितको संख्या केही घटेर ९९३ जना मात्र रह्यो । 

    बिहीबार उपत्यकामा ८६७ व्यक्तिमा संक्रमण पुष्टि भयो । शुक्रबार ८९८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

    खोपमा तीव्रता
    कोरोना संक्रमणको चक्रलाई तोड्न खोप नै प्रमुख अस्त्र भएको स्वास्थ्यविज्ञले बताउँदै आएका छन् । नेपालमा पनि पछिल्लो समय खोपलाई अभियानको रुपमा अघि बढाइएको छ ।

    स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार (३१, साउन) मा ७० हजार ७७० जनालाई भाइरसविरुद्धको खोप लगाइएको छ । 

    सोमबार १ लाख ५८ हजार ३३५, मंगलबार १ लाख ४४ हजार ४२८, बुधबार ८४ हजार १३३, बिहीबार ९१ हजार ११ र शुक्रबार १ लाख ८० हजार २८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । 

    शुक्रबारसम्म नेपालमा कोरोनाविरुद्ध खोपको पहिलो डोज लगाउनेको संख्या ४९ लाख ७ हजार ५२३ पुगेको छ । खोपको पूर्ण डोज लगाउनेको संख्या ३७ लाख ९९ हजार १ सय ७८ रहेको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा.शेरबहादुर पुनले खोप लगाएरै संक्रमणको चक्र तोडिने बताएका छन् । उनले खोप लगाएका व्यक्ति संक्रमित भए पनि अस्पताल भर्ना हुनुपर्ने वा गम्भिर अवस्थामा पुग्ने अवस्था नआउने उनले बताए ।

    डा. पुनले संक्रमणको तेस्रो लहर आउनपूर्व सबै नागरिकलाई कोरोनाविरुद्ध खोपको दायरामा समेट्नु पर्ने उल्लेख गरे । 
    हालसम्मको अवस्था

    हालसम्म नेपालमा ८ लाख २३ हजार ६४७ जना कोभिड–१९ संक्रमण पुष्टि भएको छ । त्यसैगरि ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । कोरोना कहरबिच संक्रमणको कारणले १० हजार ४५५ जनाको निधन भएको छ । कोरोना निको हुने दर ९३.१ प्रतिशत रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij