वेबटिभी खबर
काठमाडौं । विभिन्न ६ किसान संगठनहरूले उखु किसानको बक्यौता रकम भुक्तानी गर्न माग गरेका छन् । ६ किसान संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी चिनी मिलहरूले वर्षौंदेखि रोकिराखेको किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका हुन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने आश्वासन दिएर कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
उनीहरूले ‘उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ट रुपमा र सरकारको तर्फबाट प्रदान गर्न’ माग गरेका छन् ।
६ किसान संगठनले किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij