वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य थापाले एमाले एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको दाबी गरेका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
‘कार्यदलको सहमतिलाई हामीले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिसकेका छौं । सहमति कार्यान्वयनमा गइसकेको छ । कार्यदलमा रहेका केही सदस्यहरूले अहिले पनि १० बुँदे कार्यान्वयन गर्न अल्टिमेटम दिनु बेकारको कुरा हो,’ उनले भने ।
एमालेनिकट चौतारी नेपालका इञ्जार्च तथा पार्टी प्रचार विभागका उपप्रमुखसमेत रहेका थापाले कार्यदलमा भएका नेताहरूको पद यथावत् रहेकाले अब बस्ने स्थायी कमिटी बैठकमा आउनुपर्ने बताए । ‘पार्टी ३ जेठ ०७५ को अवस्थामा पुगिसकेको छ,’ थापाले भने ।
नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउँदै एकताबद्ध एमाले बनाउन पार्टीपंक्तिसँग आग्रह गरे । उनले एमालेमा आउन बाँकी रहेका कार्यकर्तालाई आउन आव्हान गरिसकेकाले उनीहरू नआए पनि पार्टी चुप लागेर नबस्ने बताए । केही दिनमा नै पार्टीका विभागहरूलाई पूर्णता दिने, अभियानहरू चलाउने काममा आफूहरू सक्रिय हुने उनले बताए ।
कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टलगायत सहभागी थिए । एमाले वरिष्ठ नेता माधव नेपाल पक्षमा रहेका तर अहिले उनको नयाँ दलमा नखुलेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत स्थायी कमिटी सदस्यले बिहीबार र शुक्रबार भेला बस्दै अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयनका लागि तीन दिनको अल्टिमेटम दिएकोप्रति थापाले खण्डन गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij