Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मौसमी परिवर्तनका कारण राप्ती प्रादेशिक अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

मौसमी परिवर्तनका कारण राप्ती प्रादेशिक अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

  • 707
    SHARES
  • मौसमी परिवर्तनका कारण राप्ती प्रादेशिक अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

    काठमाडौं । मौसमी परिवर्तनका कारण राप्ती प्रादेशिकका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीहरुको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् । 

    मेडिकल सुपरीटेन्डेन्ट डा.विनोद सिंहकाअनुसार राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकोमा अधिकांश वृद्धवृद्धा र बालबालिका रहेका छन् । कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको र अघिल्लो वर्षको तुलनामा भाइरल ज्वरोका बिरामी धेरै बढेको उनको भनाई छ । सबै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएकाले उपचारमा समेत समस्या भइरहेको डा.सिंहले जानकारी दिए ।

    त्यसैगरि तुलसी बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा.किशोर खत्रीले विगतको तुलनामा केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्न थालेको जनाए । उनले धेरैमा ज्वरो आउने, टाउको दुख्ने, घाँटी तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने र कोखा हान्नेजस्ता  लक्षणका  बिरामी उपचारका लागि आउने गरेको बताए । यसकासाथै डा.खत्रीले भाइरल ज्वरो एक प्रकारको भाइरसबाट सर्ने भएकाले यसबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न  र सरसफाइ  तथा खाने कुरामा ध्यान पुर्याउन सुझाएका छन् । 

    सुपरिटेन्डेन्ट डा.सिंहले यस्ता बिरामीमा इन्फेक्सन भएमा स्वासप्रस्वासमा समस्या आउने, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई झाडापखाला हुने र समयमै निको नभए निमोनिया पनि हुनसक्ने भएकाले उपचारमा ध्यान दिन र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले सचेत रहन पनि सुझाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij