वेबटिभी खबर
काठमाडौं । इलाम जिल्लाको बरबोटे गाउँमा चियापत्ती टिप्ने खेताला पाउन मुस्किल पर्न थालेको छ । सहरतिर बसाइँसराइ र युवाहरूमा वैदेशिक रोजगारीको मोहका कारण खेताला पाउन मुस्किल परेको हो । चैत–वैशाखदेखि असोज-कात्तिक चियापत्ती टिप्ने सिजन हो । तर गाउँमा खेताला अभावका कारण चिया टिपाइका लागि चटारो पर्ने गरेको चिया किसानको भनाइ छ ।
‘पहिले अर्म-पर्म गरेर पनि चिया टिपाइ हुन्थ्यो । तर अहिले गाउँघरमा युवाको संख्या कम छ, त्यसैले सीमित व्यक्तिले नै धेरै दिन लगाएर चिया टिप्नुपर्ने हुन्छ,’ बरबोटेका पुराना चिया किसान गोपाल घिमिरे भन्छन्, ‘समयमै चियापत्ती नटिपे बुढो भएर खेर जाने समस्या पनि उत्तिकै हुन्छ । त्यसैले उपलब्ध किसानको सहायतामा चियापत्ती टिप्दै आएका छौं ।’
चियापत्ती उत्पादनमा इलाम जिल्ला देशकै अग्रणी जिल्लामा गनिन्छ । इलाममा उत्पादित चिया काठमाडौंलगायत देशका ठूला सहरमा खपत हुँदै आएको छ भने अन्तर्राष्ट्रिय बजार साथै छिमेकी मुलुक भारतका विभिन्न सहरमा पनि बिक्री हुँदै आएको छ । तर चियाखेतीलाई केन्द्रीय सरकार र स्थानीय तहका जनप्रतिनिधिले प्राथमिकतामा नराखेको इलाम साखेजुङका चिया किसान तथा व्यावसायी युवराज दाहाल बताउँछन् ।
‘कोभिड– १९ संक्रमणका कारण भएको निषेधाज्ञाका कारण यहाँको चिया उत्पादन र व्यापार २ वर्षसम्म पूर्ण प्रभावित छ । चिया खेती गर्न र प्रशोधनलगायतका काम गर्न बैंकबाट लिएको ऋणको ब्याजमा सहुलियत दिने खालका सुविधा हामीले सरकारबाट पाउन सकेका छैनौं,’ दाहालले भने ।
बरबोटेका किसानले साखेजुङस्थित हिमालय सांग्रिला टि उद्योगमा चियापत्ती पठाउँदै आएका छन् । हाल चियापत्तीको प्रतिकेजी मूल्य प्रथम ग्रेडको ५५, द्वीतीय ग्रेडको ४५ र तृतीय ग्रेडको २५ रूपैयाँ रहेको घिमिरेले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij