वेबटिभी खबर
वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ नियन्त्रणका लागि विभिन्न नयाँ नियम घोषणा गरेका छन् । डेल्टा भेरिएन्टका कारण अझै पनि दिनहुँ ठूलो संख्यामा अमेरिकीको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले नयाँ नियम घोषणा गरेका हुन् ।
घोषित नयाँ नियमअनुसार ठूला कम्पनीका सम्पूर्ण कर्मचारीले अनिवार्य खोप लगाएको हुनुपर्ने छ । त्यस्तै, उनीहरुले साप्ताहिक रुपमा आफ्ना कर्मचारीको कोभिड परीक्षण गराउनुपर्नेछ ।
अहिले पनि कोरोनाका कारण दैनिक औसतमा दुई हजार जनाको मृत्यु हुने गरेको छ । कोरोनाबाट अमेरिकामा अहिलेसम्म ६ लाख ७४ हजारको मृत्यु भइसकेको छ । अहिले दिनहुँ डेढ लाखभन्दा बढी अमेरिकी संक्रमित हुने गरेका छन् । नयाँ नियमले करोडौं अमेरिकी प्रभावित हुनेछन् । अझै पनि अमेरिकामा ८ करोडले कोभिडविरुद्धको खोप लगाएका छैनन् ।
शुक्रबार ह्वाइट हाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले एक सयजना कर्मचारी हुने हरेक कम्पनीले आफ्ना सबै कर्मचारीले खोप लगाएको प्रमाण पेस गर्नुपर्ने र साप्ताहिक रुपमा कोभिड परीक्षण गर्नुपर्ने बताए ।
उनले भने, ‘यो अभिव्यक्ति स्वतन्त्रता वा व्यक्तिगत छनौटको विषय होइन । तपाईहरुको जीवन रक्षा गर्न नयाँ नियम ल्याइएको हो । ’
संघीय सरकारले उपलब्ध गराएको सुविधा लिइरहेका १७ करोड स्वास्थ्य सेवा कर्मचारीले पनि पछिल्ला नियम पालना गर्नुपर्ने हुन्छ । सरकारको नयाँ घोषणाको रिपब्लिकनले विरोध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij