वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले उत्तर कोरिया सरकारसँग फेबु्रअरीदेखि सम्पर्क गर्न प्रयास गरे पनि कुनै जवाफ नआएको बताएको छ । अधिकारीका अनुसार अमेरिकाले दुवै देशबीचको तनाव कम गर्न विभिन्न तरिकाबाट उत्तर कोरियासँग सम्पर्क स्थापित गर्ने प्रयास गरेको बताएको छ ।
उत्तर कोरियाका परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण दुवै देशबीच टकरावको स्थिति बनेको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाका शासक किम जङ उनबीच यसअगाडि तीन चरणमा वार्ता भएका थियो तर ती वार्ता सफल भएनन् । उत्तर कोरियाले आणविक हतियारहरु अन्त्य गर्न अस्वीकार गर्यो । अमेरिका तथा पश्चिमी देशहरुलेसबैभन्दा पहिला आणविक हतियार नष्ट गर्न उत्तर कोरियासँग माग गरेका छन् । उत्तर कोरियाको सरकारी मिडियाले हालसम्म जो बाइडेनको अमेरिकी राष्ट्रपतिको रुपमा पनि स्वीकृति दिएको छैन ।
अमेरिकाले संयुक्त राष्ट्र संघमा उत्तर कोरिया मिसनको माध्यामबाट सम्पर्क गर्ने प्रयास गरिरहेको छ । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग उत्तर कोरियासँग सम्पर्क गर्ने धेरै प्रयास गरे पनि कुनै जवाफ नआएको बताएका थिए । राष्ट्रपति जो बाइडेनले उत्तर कोरियाका लागि अमेरिकी नीति समीक्षा गर्ने घोषणा गरिसकेका छन्, जुन आगामी अप्रिलमा सार्वजनिक हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij