Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मध्यावधि निर्वाचनको संघारमा क्यानडा, मुश्किलमा 'जस्टिन ब्रान्ड'

मध्यावधि निर्वाचनको संघारमा क्यानडा, मुश्किलमा 'जस्टिन ब्रान्ड'

  • 577
    SHARES
  • मध्यावधि निर्वाचनको संघारमा क्यानडा, मुश्किलमा 'जस्टिन ब्रान्ड'

    ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले १५ अगस्टमा मध्यावधि निर्वाचनको घोषणा गरे । छोटो समय राखेर निर्वाचन घोषणा गरेका उनले कोरोना भाइरस नियन्त्रणमा सफल भएकाले पूर्ण बहुमत पाउने आशा राखेका छन् । सेप्टेम्बर २० मा हुने निर्वाचनका लागि अब एक सातामात्रै बाँकी छ । तर जस्टिनले पुनः सरकारकाे नेतृत्व गर्न पाउँछन् वा पाउँदैनन भन्नेमा धेरैले शंका गरेका छन् ।

    समाचार एजेन्सीहरुका अनुसार ट्रुडोको लिबरल पार्टीको चुनाव प्रचार खासै बलियाे देखिएकाे छैन । चुनावी अभियानका क्रममा ट्रुडोमाथि केही दिनअघि ढुंगा प्रहार भएको थियो । कतिपय ठाउँमा विराेधकै कारण चुनावी कार्यक्रम स्थगित गर्नु परेकाे छ । मानिसहरुको उनले उठाएका मुद्दाप्रति खासै सन्तुष्ट छैनन । 

    जस्टिन ट्रुडो सन् २०१५ देखि सत्तामा छन् । सन् २०१९ मा दोस्रोपटक प्रधानमन्त्री बन्दा उनको सरकार अल्पमतमा थियो । यसकै कारण उनले महत्वपूर्ण निर्णय गर्दा विपक्षीको सहारा लिनु पथ्र्यो । उनको सरकार कोरोना नियन्त्रण र खोप कायक्रममा सफल रह्यो, बिजनेस कम्युनिटीलाई सहयोग पुग्यो । यसको बावजुद क्यानडेलीहरु जस्टिन नेतृत्वको सरकारप्रति निराश छन् । यसैका कारण अहिले सत्ता विरोधी लहर नै चलेको छ । पूर्ण बहुमतका लागि ४९ वर्षका ट्रुडोलाई ३९ प्रतिशत मत आवश्यक पर्छ । अहिलेको स्थिति हेर्दा उनका लागि यो निर्वाचन थप मुश्किल हुने देखिएको छ । 

    ट्रुडोको लिबरल पार्टीका एक नेताले मध्यावधि निर्वाचनको फैसला गरेर प्रधानमन्त्रीले गलत गरेको प्रतिक्रिया दिएका छन् । केही दिनअगाडि ट्रुडोले कोरोनाविरुद्ध सरकारले उत्कृष्ट काम गरेकाले जनताले निर्वाचनमा आफैं विचार गर्ने र जिडिपी २३ प्रतिशतसम्म पुर्याउने बताएका थिए । अगस्टमा निर्वाचनको घोषणाको समयमा ट्रुडोको लिबरल पार्टीभन्दा प्रमुख विपक्षी दल कन्जरर्भेटिभ पार्टी अगाडि थियो । हालै गरिएका सर्वेमा पनि ट्रुडो विपक्षी नेता एरिन ओ टुलभन्दा पछाडि देखिएका छन् । 

    ट्रुडोको समर्थक भन्छन्, ‘एक समय थियो, मानिसहरु उनलाई सुन्न मन पराउँथे । अब ट्रुडो ब्रान्डबाट सबै थाकिसके । ओन्टरियो सबैभन्दा धेरै जनसंख्या भएको राज्य हो । त्यहाँ १२१ मध्ये ७५ सिट लिबरल पार्टीको थियो । तर अब यति सिट जित्न मुश्किल छ ।’

    सुरुमा प्रधानमन्त्री हुँदा बहुमत ल्याएर सरकार बनाएका ट्रुडोको लोकप्रियता पछिल्लो समय घट्दै गएको छ । हाल उनले तोकिएको समयअगावै निर्वाचन गर्नुको कारण बताएका छैनन । विपक्षी पार्टीले निजी स्वास्थ्य सेवाको मुद्दालाई जोड दिएका छन् । ओटावामा कोरोना भाइरसको चौथो लहर बढिरहेको छ । यस्तो अवस्थामा ट्रुडोले निर्वाचन घोषणा गरेर ठूलै गल्ति गरेको विश्लेषकहरुको दाबी छ । 

    दोस्रोपटक उनी सत्तामा आउँदा उनले जलवायु परिवर्तन, महिला अधिकार एवं जनजातिलाई सुविधा प्रदान गर्ने वाचा गरेका थिए तर यी तीनै मुद्दामा उनी सफल हुन नसकेको क्यानडाका नागरिकको ठहर छ । यसले पनि क्यानडेलीहरूले उनकाे सत्ताबाट बहिर्गमन खाेजिरहेका छन् । 

    गत साता गरिएको निर्वाचन सर्वेमा लिबरल पार्टीले ३३ प्रतिशत र कन्जरभेटिभले ३० प्रतिशत मत पाउने सम्भावना देखिएको थियो । जस्टिनले चुनावी प्रचारका लागि सेलिब्रेटीको सहयोग पनि लिइरहेका छन् । क्यानडाका राजनीतिक विश्लेषक एलेक्स मेरल्यान्ड भन्छन्, ‘जस्टिनको जस्तो जादू अहिलेसम्म कसैमा पनि देखिएको छैन र यो राम्रो कुरा होइन ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij