वेबटिभी खबर
काठमाडौं । बेलायत, अमेरिका र अष्ट्रेलियाले चीनको सामना गर्न एक विशेष सुरक्षा सम्झौता गरेका छन् । हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौता परिष्कृत रक्षा प्रविधिकी साझेदारीसँग सम्बन्धित छ । यस सम्झौताले अष्ट्रेलियालाई पहिलोपटक परमाणु उर्जाबाट चल्ने पनडुब्बि बनाउने बाटो खुला गरेको छ । यस सम्झौतालाई अकस नाम दिइएको छ ।
बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अकस सुरक्षा सम्झौताबारे एक संयुक्त वक्तव्य जारी गरेका थिए । ‘अकसको माध्यामबाट अष्ट्रेलियाको जलसेनाका लागि परमाणु उर्जाबाट चल्ने पनडुब्बिको निर्माण गर्न प्रतिबद्ध छौं’ वक्तव्यमा भनिएको छ ।
सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर साझेदारी पनि समावेश गरिएको छ । हिन्द-प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिलाई लिएर तीन वटै देश चिन्तित छन् । यसैको परिणामस्वरुप अष्ट्रेलियाले फ्रान्सेली डिजाइनको पनडुब्बि निर्माणका लागि गरेको एक सम्झौता पनि रद्द गरेको छ ।
अष्ट्रेलियाको जलसेनाले १२ पनडुब्बि बनाउनका लागि सन् २०१६ मा फ्रान्ससँग सम्झौता गरेको थियो । यो अष्ट्रेलियाको अहिलेसम्मको सबैभन्दा ठूलो रक्षा सम्झौता थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij