काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनमा आवद्ध केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलका मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन्।
शनिवार गणेशमान सिहको २५ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरुबिच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन ढिलाइ भएपनि अब चाँडै सरकारले पुर्णता पाउने बताए।
सिंहले कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै अहिलेको गठबन्धन बनेको बताए। उनले कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफलस्वरुप कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको बताए। कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाइ थियो । सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए।
उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधान अनुसार समधान गर्नुपर्ने बताए। उनले संस्थापन इतर समुहबाट साझा उम्मेदवारको सम्भावना अझै नसकिएको र त्यसका लागि निरन्तर छलफल भइरहेको बताए।
यद्यपी आफु सभापतीमा उम्मेदवारी दिनबाट पछि नहट्ने उनको भनाइ थियो। कार्यक्रममा उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुढयाएको योगदानको स्मरण गरे। जस्तोसुकै अप्ठयारो परिस्थीतीमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको उनले बताउनु भयो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij