Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

समानुपतिक, समावेशी र सहअस्तित्वलाई सबैभन्दा बढी कांग्रेसले स्वीकारेको छ : अतहर कमाल [अन्तर्वार्ता]

समानुपतिक, समावेशी र सहअस्तित्वलाई सबैभन्दा बढी कांग्रेसले स्वीकारेको छ : अतहर कमाल [अन्तर्वार्ता]

  • 1.5K
    SHARES
  • समानुपतिक, समावेशी र सहअस्तित्वलाई सबैभन्दा बढी कांग्रेसले स्वीकारेको छ : अतहर कमाल [अन्तर्वार्ता]

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर कमाल मुसलमान प्रतिनिधिसभा सदस्यसमेत हुन् । यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा उनले कपिलवस्तुबाट चुनाव जितेका थिए । 

    images

    नेविसंघबाट पार्टीको मुलधार राजनीतिमा आएका मुसलमान स्पष्टवक्ता र जुझारु युवा नेताको रुपमा चिनिन्छन । मुसलमानसँग कांग्रेसको आसन्न महाधिवेशन, उनको उम्मेद्वारी दिने तयारी, पार्टीभित्र समावेशी, समानुपातिक प्रणालीको अभ्यास र युवाहरूको उपस्थितिबारे वेबटिभी खबरका सुरञ्जन घिमिरेले गरेको कुराकानी :   

    आसन्न महाधिवेशनमा तपाईंको उम्मेद्वारी कुन पदमा हुन्छ ? 
    अहिलेसम्म मैले उम्मेदवारी बारे कुनै धारणा बनाएको छैन । समय आएपछि त्यसबारे निर्णय लिने नै छु । अहिले क्रियाशील सदस्यता विवाद पनि समाधान भइसकेको छैन् । 

    १४ औँ महाधिवेशनमा मैले उम्मेद्वारी दिन्छु तर, तर कुन पदमा उम्मेदवारी दिने भन्ने तय गरिसकेको छैन् । यसमा सबै साथीहरु, नेताहरुसँग पनि सल्लाह गर्ने छु । व्यक्तिगत रूपमा उम्मेद्वारी घोषणा गर्ने कुरा पनि भएन । 

    पार्टीमा गुटबन्दी देखिएको छ । गुट हावी हुँदा सक्षम नेतृत्व नआउने संभावना हुँदैन ? 

    लोकतन्त्र र बहुदलीय प्रणालीमा जुन पार्टीमा पनि गुट, उपगुट हुन्छ । यो नौलो कुरा होइन । गुटको समायोजन र व्यवस्थापन समानुपातिक प्रणालीबाट गर्न सकिन्छ । असक्षमले पनि सक्षम छु भनेर दाबी गर्ने परिपाटी छ । सक्षम र योग्य उम्मेद्वारले पनि एउटा न एउटा गुटमा बस्नैपर्ने अवस्था छ, म कुनै गुटमा छैन भनेर स्वतन्त्र उठ्नेले पनि कुनै न कुनै ठाउँमा पुगेर गुटमा लाग्नैपर्छ । गुटले पार्टीलाई सिध्याउँछ भन्ने पनि होइन । तर नेतृत्व चयन गर्दा सक्षम व्यक्ति छान्नु पर्छ । गुट मात्र हेर्नु हुँदैन । 

    नेपाली कांग्रेसमा महिला, आदिवासी, मुस्लिम, जनजाति, उत्पीडित वर्गको सहभागिता कस्तो छ ?

    नेपाली कांग्रेस अरू दलभन्दा बढी समानुपतिक, समावेशी र सहअस्तित्वलाई स्वीकार गरेको पार्टी हो । पार्टीको विधानले नै यी कुराको ग्यारेन्टी गरिसकेको छ । 

    समानुपातिक, समावेशी प्रणाली अगाडि बढाउँदा पनि त्यसभित्रकै सक्षम नेतृत्व अगाडि जाने हो । त्यसैले हामीहरू सधैं आरक्षण र कोटाको भरमा पर्ने कि आफैं अगाडि आउने भन्ने हाम्रै हातमा छ ।

    पार्टीमा संस्थापन पक्ष र संस्थापनइतर गुट मौलाइरहेको बेलामा अब हुने महाधिवेशले एकताको सन्देश दिन सक्छ कि सक्दैन ?

    महाधिवेशनका लागि चुनिएर आएका सबै साथीलाई भोट हाल्ने र निर्वाचनमा उम्मेदवार हुने अधिकार हुन्छ । तर, त्यसो भन्दैमा सबै उम्मेदवार त हुँदैनन् । साथै सबैलाई मिलाएर, सबैलाई समेटेर महाधिवेश गर्नुपर्ने नेतृत्वको दायित्व हो । यो महाधिवेशन पार्टी एकताकै लागि हो, र यो महाधिवेशनले एकताको सन्देश दिन्छ भन्ने मलाई लाग्छ । 

    विगतमा दुईवटा पार्टीलाई मिलाएर पनि महाधिवेशन गर्एिको थियो, तर अहिले हुन लागेको महाधिवेशन त एउटै पार्टी नेपाली कांग्रेसको महाधिवेशन हो, पार्टीले महाधिवेशन गरेर एकताको सन्देश दिने हो । पार्टीमा समावेशी समानुपातिक प्रणालीलाई थप जोड दिँदै र राष्ट्रलाई अगाडि बढाउन सक्ने नेतृत्व महाधिवेशनले चयन गर्छ । 

    यो महाधिवेशनमा युवाहरू नेतृत्वमा आउन कत्तिको सजिलो छ ?
    पार्टीमा युवा, युवा, युवा भनिन्छ । तर कोही युवा एक्लै सभापतिमा लड्छु भनेर आउन सक्दैन । कल्याण गुरुङजीले अहिले सभापतिमा उम्मेद्वारी दिनु भएको छ । तर उहाँको उम्मेदवारी र सम्बन्ध कोसँग कुन किसिमको छ भन्ने हामीलाई थाहा छ । पहिले आफूलाई उम्मेद्वार घोषणा गर्ने र कहीं न कही सहारा खोज्ने गरिएको छ, यो मानसिकताले वास्तविक अर्थमा पार्टीमा युवाको उपस्थिति हुन्छ जस्तो मलाई लाग्दैन । 

    तलैबाट केही युवाहरू यो महाधिवेशनमा अगाडि आउनुहुन्छ भन्ने देखिएको छ । तर, नेपाली कांग्रेसको नेतृत्व तहमा युवाको आसलाग्दो उपस्थिति हुन्छ भन्ने मैले देखेको छैन ।

    ०७४ सालमा कांग्रेस पराजित भएको थियो । आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउन के–कस्तो सुझाव दिन चाहनुहुन्छ ?

    अहिले गठबन्धनमा बनेको सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ । सरकारले अहिले गर्नु पर्ने प्रमुख काम भनेको कोभिड विरुद्धको भ्याक्सीनको सुनिश्चितता हो । चाँडोभन्दा चाँडो सबै नागरिकलाई भ्याक्सिन पुर्याउन सक्यो भने अहिलेको सरकार सफल ठहर्छ । यसले नेपाली कांग्रेसको छवि राम्रो बनाउन मद्दत पुग्छ । 

    यसका साथै सुशासनलाई पनि सरकारले ध्यानमा राखेर काम गर्न जरुरी छ । कमर्चारीतन्त्रमा देखिएको बेथिति, सेवा प्रवाहका क्षेत्रमा देखिएको ढिलासुस्ती हटाउँदै सरकारले काम गर्नु पर्छ । केन्द्रदेखि जिल्ला र वडा तहसम्म यी काम गर्ने हो भने आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश र केन्द्रमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने अवस्था देखिन्छ । निर्वाचन जित्नसक्ने सक्षम उम्मेद्वारलाई पार्टीले टिकट दिनुपर्यो ।

    कांग्रेसले पाँचवर्षसम्म प्रतिपक्षमा बस्ने जनमत पाएको थियो । तर अहिले गठबन्धन बनाएर सरकारमा गएको छ, कांग्रेस यसरी सरकारमा जानु ठिक हो ?

    यो गठबन्धन सरकार बनाउनका लागि मात्र होइन, देश र जनताका लागि काम गर्न बनेको हो भन्ने सन्देश जानु पर्छ । त्यसैले यो गठबन्धनलाई कसरी हुन्छ देश र जनताका हितमा काम गर्ने गरी बलियो बनाउन जरुरी छ । गठबन्धनमा रहेका सबै दलको यो साझा दायित्व हो । अरु दललाई पनि विश्वासमा लिएर जनताको पक्षमा निरन्तर काम गर्नुपर्छ । 

    हामीले सुरुदेखि नै हामी प्रतिपक्षमा बस्नका लागि जनमत पाएको भन्दै आएका थियौं । तर सदन विघटन भएपछि मुलुकमा जुनखालेको समस्या आयो । दुई तिहाइको सरकार आफैंले आफ्नो पार्टीलाई जुन हिसाबले अल्पमतमा पुर्यायो । त्यसपछि बाध्यात्मक अवस्थामा गठबन्धनमा सरकार बनेर कांग्रेसले त्यसको नेतृत्व गर्नुपरेको हो । गठबन्धनका सबै दललाई समेटेर कांग्रेस अघि बढिरहेको छ, किनकि गठबन्धनको यो धर्म हो, राजनीतिक इमान्दारिताको विषय हो । 

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नुहोस् भनेर गठबन्धनका नेताहरुले नै दवाव दिनु भएको हो । यसमा कांग्रेसले अग्रसरता लिएको होइन । गठबन्धनको सरकारमा कांग्रेस रहरले होइन राष्ट्रियता र लोकतन्त्र जोगाउनका लागि गएको हो । संकटबाट मुलुकलाई जोगाउन र लोकतन्त्रको रक्षाका लागि कांग्रेस अघि सर्नुैपर्छ भन्ने इतिहासले पनि सावित गरिसकेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology