वेबटिभी खबर
काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा विश्वका विभिन्न मित्रराष्ट्रले नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्लादमिर पुटिन, जापानी सम्राट, भारतीय राष्ट्रपति, बंगलादेखि, श्रीलंका, जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपतिलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश पठाएको र प्राप्त हुनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारत सरकार, भारतीय जनता र स्वयम् आफ्नोतर्फबाट राष्ट्रपति भण्डारीमा शुभकामना व्यक्त गर्दै पठाएको सन्देशमा उनले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध चीरस्थायी रहेको उल्लेख गरेका छन् ।
सबल जनस्तरको सम्बन्ध र सुदृढ उच्चस्तरीय आदानप्रदानले आपसी मैत्रीलाई अझ उन्नत तुल्याएको बताउँदै सन्देशमा कोविन्दले दुवै देशका जनता र यस क्षेत्रको पारस्परिक लाभका निम्ति अति पुरानो आपसी साझेदारीको आधारलाई थप मजबुत बनाउँदै बहुआयमिक भारत–नेपाल सम्बन्ध विस्तार हुने विश्वास गरेका छन्। भारतका राष्ट्रपतिले राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij