काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वामपन्थी नेताहरूले आफैंले वामपन्थी सरकार बचाउनुपर्ने बेला आएको बताएका छन् ।
गौतम नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले एमालेका सबै पक्षका नेता र माओवादी केन्द्रसहित सबै वामपन्थी शक्ति एक भएर सरकार बनाउने बेला आएको बताए ।
वाम सरकार बनाउन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नै पहलकदमी अगाडि बढाउनुपर्नेमा जोड दिए ।
‘वाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ । प्रचण्डजीलाई बोलाएर छलफल गर्नुहोस्,’ गौतमको सुझाव छ । २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिए पनि वाम गठबन्धनको सम्भावना रहेको गौतमको दाबी छ ।
गौतम-अभियानको नाम फेरियो
एमालेसहित वाम एकताका लागि पहल गर्दै आएका गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका हुन् ।
गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान बनाएका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान राखिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij