सुरञ्जन घिमिरे
सत्तारुढ नेकपा माओवादी केन्द्र झापा जिल्ला इन्चार्ज र प्रदेश १ सहइन्चार्ज हुन् धर्मशिला चापागाईं । माओवादीले नेतृत्व गरेको १० वर्षे जनयुद्धमासमेत सामेल उनले नेपालको कम्युनिस्ट आन्दोलन र महिला जागरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएकी छिन् । संविधानसभाको पहिलो निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट विजयी सभासद् उनी हाल माओवादी केन्द्रीय कमिटी सदस्य र प्रतिनिधिसभा सदस्य पनि हुन् ।
सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र पुनः ब्युँतिएपछि संगठन पुनर्निर्माणमा लागेको माओवादीको आगामी कार्यदिशा, प्रदेश १ र झापा जिल्लामा माओवादीको अहिलेको अवस्थाबारे माओवादी नेतृ चापागाईंसँग गरिएको कुराकानी:
वडादेखि केन्द्रीय कमिटीसम्मका सबै पदाधिकारी निर्वाचनबाट चुनिनुपर्छ भन्ने पार्टीको निर्णयलाई कसरी हेर्नु भएको छ ?
यो एकदमै राम्रो निर्णय हो । निर्वाचनका विभिन्न विधि छन्, भुगोल, समावेशी, खुलामिश्रित प्रणालीभित्र बसेर जानैपर्छ । यसले पार्टीभित्र नेतृत्व विकासमा सहयोग पुर्याउँछ । पार्टी कमिटीभित्र महिला, मुस्लिम, युवा, जनजाति सबै वर्ग र क्षेत्रका सदस्यलाई ल्याउन चुनौतीपूणै नै छ । सबै कमिटीमा सदस्य निर्वाचित हुने भएपछि पार्टीमा महिलाको भूमिका र उपस्थिति पनि बढ्ने देखिन्छ । महिलाहरू राजनीतिमा देखिन नचाहेको अवस्था आइरहँदा कमिटीमा निर्वाचन हुने भएपछि महिलाहरू फेरि राजनीतिमा आउन प्रेरित भएको देखेको छु । पदाधिकारी निर्वाचित हुने भएपछि युवा, अल्पसंख्यक, मुस्लिम, दलित, जनजाति सबै उत्साहित भएको पाएको छु ।
नेकपा हुँदै अदालतको आदेशबाट पुनः पुरानै ब्युँतिएपछि आगामी निर्वाचनमा माओवादीको पोजिसन कस्तो रहने देख्नुभएको छ ?
निर्वाचन जित्ने भन्ने पछिको कुरा हो । अहिले माओवादीको मुख्य काम संविधानको रक्षा, संसद्को रक्षा, विधिको शासनलाई मर्न नदिनु हो । मुलुकको विकासका लागि पनि सबै कम्युनिस्ट शक्ति दह्रो हुन जरुरी छ । लोकतान्त्रिक, वामपन्थी र प्रगतिशील सबै शक्ति मिलेर पहिला संविधानको रक्षा गर्नुपर्छ । अहिलेको व्यवस्थामाथि नै दक्षिणपन्थीहरूले आक्रमण गर्न खोजिरहेको अवस्था छ। यसको रक्षा नै माओवादीका लागि अहिलेको मुख्य एजेन्डा हो ।
निर्वाचनमा माओवादीको कुरा गर्दा हामी अहिले पार्टीको संगठन निर्माण गरिरहेका छौं, संगठन बलियो भएपछि चुनाव जित्नेमा कुनै द्विविधा नै छैन । चुनावमा हामी प्रगतिशील शक्तिसँग मोर्चा बनाउन पनि सक्छौं तर अहिले हामी त्यता जाँदैनौं । मुख्य रूपमा हाम्रै पार्टीलाई दह्रो बनाउन लागिपर्छौं । जनताको आश हामीमा छ । राष्ट्रिय मुद्दाहरूमा माओवादीले जस्तो अरू पार्टीले बोलेका छैनन्,यसले पनि जनतामा माओवादीप्रति भरोसा जगाएको छ । जसरी हिजो अरू दलले आर्थिक मुद्दा उठाइरहँदा जनयुद्धको समयमा हामीले सामाजिक, सांस्कृतिक, जनताका जनजीविकाका मुद्दा उठायौं र हाम्रा दाजुभाइ, दिदीबहिनीहरूले मर्न तयार भएर माओवादीलाई साथ दिनु भो । आन्दोलनमा सहभागी हुनुभयो । बीचमा कतिपय काम राम्ररी गर्न नसक्दा, सुव्यवस्थित गर्न नसक्दा अरू दलजस्तै माओवादी पनि बिग्रियो कि क्या हो भन्ने जनतामा परेको छ । उहाँहरू हामीसँग रिसाउनु पनि भयो । राष्ट्रियता र जनजीविकाका सवालमा माओवादी नै जनताको पार्टी हो भनेर जनताले नयाँ ढंगले बुझ्दै जानुभएको छ ।
०७४ सालमा सालमा माओवादीले जितेका स्थानमा आगामी निर्वाचनमा पनि जित्न सक्ला ?
नेपालमा दह्रो कम्युनिस्ट पार्टीको उपस्थिति होस् भनेर जनताले ०७४ सालमा कम्युनिस्ट पार्टीहरूलाई दुईतिहाइ बहुमत पुग्ने गरी भोट दिनुभएको थियो । कम्युनिस्ट पार्टीले सरकार बनाउँछन् र जनतालाई सेवा प्रवाह गर्छन् भनेर हामीले भोट मागेका थियौं । हामीले भोट पनि पायौं ।
तर केपी ओली प्रधानमन्त्री बनेपछि जनताको अपेक्षा पुरा गर्नुको सट्टा प्रतिनिधिसभा विघटन गरे । हाल हामीले यी कुराहरू तल लिएर गएका छौं र फेरि माओवादी आउँछ है भनेर जनतालाई बुझाइरहेका छौं । म अहिले भर्खरै पनि झापाका एक, दुईवटा पालिकामा पुग्दा त्यहाँका जनताले मलाई तपाईं आइरहनुस् छलफल चलाइरहनूस् भन्ने सुझाव जनताबाट पाएको छु । बीचमा माओवादी बिग्रियो कि क्या हो ? भन्ने जनतामा अन्योलता थियो तर अहिले हामीले आफैंलाई करेक्सन गरेर जनतामा गएपछि जनताले बुझ्न थाल्नुभएको छ । यसरी हेर्दा प्रदेश १ र झापामा हाम्रो पार्टी पुनर्जीवित हुने, राम्रो मत परिणाम हासिल गर्न सफल हुने देखेको छु । अध्यक्ष प्रचण्डले हालै प्रस्तुत गर्नु भएको दस्तावेजलाई तल्लो कमिटीमा लिएर जाने र जनतालाई हाम्रा सही कुरा बताउने हो भने हाम्रो पार्टीले राम्रो परिणाम हासिल गर्ने मैले देखेको छु ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी नामको विज्ञापन गर्ने पार्टी भयो, सबै नेता र कार्यकर्ताहरू एमालेका जस्तै देखिन थालियो, पार्टीमा एमालेकरण हावी भयो, यस्तो हुनुभन्दा बरू माओवादी पार्टी नै विघटन गरिदिउँ भन्ने अभिव्यक्ति दिइँरहदा माओवादीले नेतृत्व गरेको १० वर्षे जनयुद्धबाट आउनुभएका तपाईंजस्ता नेताको प्रतिक्रिया के छ ?
अध्यक्षले कुन सन्दर्भमा यस्तो भन्नु भएको हो मैले सुन्न पाइनँ । तर, अहिले यो खुला प्रक्रियामा आएपछि, (म यसलाई शान्ति प्रक्रिया भन्दिनँ किनभने मुलुकमा अशान्ति भएकैले हामीले युद्ध गरेका थियौं र हाम्रो युद्धपछि पनि मुलुकमा हामीले खोजेजस्तो शान्ति स्थापना हुन सकेको छैन त्यसैले म यसलाई शान्ति प्रक्रिया होइन खुला प्रक्रिया भन्छु ।) पार्टीभित्र विभिन्न खालको आन्दोलनको स्वरूपअनुसार नेताहरूको चरित्र बन्दो रहेछ । हिजो युद्धमा हुँदा हामी एउटा शैलीबाट हिँड्थ्यौं । त्यतिबेला सबैको व्यवहार र कार्यशैली एउटै थियो । तर,अहिले जुन ठाउँमा आयौं, यो ठाउँमा आइपुग्दा केही कमरेडहरूको स्वभाव बदलिएकोतर्फ अध्यक्ष कमरेडले संकेत गर्नुभएको होला भन्ने मलाई लाग्छ । हिजो हाम्रो संगठन बन्ने पद्धति र प्रक्रिया नै फरक थियो । अहिले आएपछि संगठन निर्माण गर्न निर्वाचनतिर जानुपर्ने स्थिति देखापरेको छ । यो समयको माग रहेछ । अब हाम्रा यस्ता कार्यशैलीहरूलाई कसरी क्रान्तिको पक्षमारुपान्तरण गर्ने र पार्टीले निर्दिष्ट गरेका सिद्धान्तलाई कसरी जनतासम्म पुर्याउने भन्नेमा नेता, कार्यकर्ताको ध्येय रहनेछ ।
एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी नेकपाकै नयाँ स्वरूपमा रहेको, प्रचण्ड आफ्नो सानो गुट लिएर माओवादीतर्फ गएको भन्ने तर्कप्रति तपाईंको टिप्पणी के छ ?
हिजो नेकपाकालमा पनि प्रचण्डले पार्टी विलय गराइहाले अब किन नेकपा भन्नुपर्यो एमाले नै भनौं न भन्नेसम्मको कुरा ओलीले गर्नुहुन्थ्यो । ओली त त्यसो भन्ने मान्छे नै हो, उहाँको धेरै केही टिप्पणी गर्नु छैन । अहिले मात्र प्रशंगहरूमा नेकपा भन्ने गर्नु भएको छ, हिजोसम्म त प्रचण्डलाई वास्तै नगरेर एमाले नै भन्ने गर्नुहुन्थ्यो नि ओली, त्यसैले उहाँका कुरामा मलाई केही जवाफ दिन मन लाग्दैन । अब नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत र सुदृढ गर्नुपर्छ । त्यसका लागि बाधक हुन् ओली । उनलाई यो व्यवस्थाको माया पनि छैन र उनले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेको देख्दा त उनलाई यो व्यवस्था जोगाउनुपर्छ भन्ने मतलब पनि छैन भन्ने स्पष्टै पारेको छ । नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीकै नेतृत्वमा ल्याइएको यो व्यवस्था जोगाउन नै उनलाई महत्त्वपूर्ण लाग्दैन, तिनले त अरूलाई भत्काउन खोज्छन् नै । उनले पार्टीको असन्तुष्टि ल्याएर संसद्मा पोखे । पार्टीको अन्तरसंघर्षलाई जनताको आवाज बोल्ने ठाउँमा ल्याएर पोख्न ठिक थिएन ।
सर्वोच्चको फैसलापछि पुनः ब्युँतिएको माओवादीले पार्टी कमिटी र संगठन सुदृणीकरणलाई तीव्रता दिएको देखिन्छ । झापा जिल्ला र १ नम्बर प्रदेशमा संगठन निर्माणको अवस्था कस्तो छ ?
नेकपाबाट माओवादी ब्युँतिएपछि नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः परिभाषित र पुनः संगठित गर्ने चरणमा हामी आइपुगेका छौं । कम्युनिस्ट आन्दोलन पुनर्गठनकै आवश्यकताले नेकपा एमालेसँग एकता गरिएको थियो । त्यो एकता धेरै टिक्न सकेन, तै पनि फेरि हामी वामपन्थी शक्तिको एकतालाई अघि बढाउन लागिरहेका छौं । नेपालको संविधानको सफल कार्यान्वयन गर्न पनि नेपालका कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक छ ।
झापाको पालिका र वडा तहमा नेता, कार्यकर्ता र शुभचिन्तकमा ठूलो उत्साह छ । झापाको दक्षिणी क्षेत्रमा रहेको कचनकवल गाउँपालिकामा २० वर्ष उमेरकी मुस्लिम महिला अध्यक्ष बन्नुभयो । यो धेरै महत्त्वपूर्ण कुरा हो । पालिकामा जनवर्गीय संगठन, सामाजिक संगठन, मोर्चाहरूमा सदस्यहरू आइरहनु भएको छ । त्यसहिसाबले अहिले ठूलो उत्साह छ । झापामा पार्टीको आन्तरिक सम्मेलनहरू भइरहेको छ ।
असोज २० गते वडामा सम्मेलनहरू छन् त्यसपछि कात्तिकको पहिलो हप्ता पालिकास्तरका सम्मेलनहरू छन् । पार्टीको सदस्यता नवीकरण गर्ने काम धमाधम गरिरहेका छौं । एमालेसँग एकता र फुटले गर्दा कार्यकर्तामा केही अन्योल पनि देखिएको अवस्था छ । त्यो अन्योल क्रमशः हट्दै गएको छ । हामी तल्लो कमिटीसम्म गएका छौं, माओवादीको संगठन पुनः निर्माण हुँदै गर्दा झापामा उत्साह देखिएको छ । नेकपाको विभाजनले प्रदेश र जिल्लाका केही नेता, कार्यकर्तामा थोरै अन्योल भने देखिएको छ ।
माओवादी झापा जिल्ला कमिटीमा बसेर लामो समयदेखि काम गरेको अनुभवको आधारमा पार्टी नेतृत्व र सिंगो पार्टीपंक्तिलाई के भन्न चाहनुहुन्छ ?
पार्टीमा एक ठाउँमा बसेर कहिल्यै पनि काम गर्न पाइन भनेर मैले अध्यक्ष कमरेडलाई पनि गुनासो गर्दै आएको छु । जिम्मेवारी दुई, तीनतिर छन् सबैतिर ध्यान दिएर जिम्मेवारीसाथ खटिरहेको छु । पार्टी भनेको विचारबाट चल्ने भएकाले सबै साथीहरूबीचमा अझै बढी छलफल र बहसको जरुरी छ भन्ने मलाई लाग्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij