रमेश दवाडी
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल हाल पार्टीको केन्द्रीय सदस्य छन् । दुई पटकसम्म पार्टी केन्द्रीय सदस्यको भूमिकामा रहेर योगदान पुर्याएका पौडेल अध्ययनशील र स्पष्टवक्ताको रूपमा नेपाली राजनीतिमा चिनिन्छन् । तनहुँमा जन्मिएका नेता पौडेल कांग्रेसको मुख्य भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष समेत हुन् । पार्टीभित्र होस् या बाहिर राष्ट्रिय र जनजीविकाको सवालमा आवाज उठाउने पौडेल पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने तयारीमा छन् । क्रियाशील सदस्यता छानविन समितिको सदस्यको रूपमासमेत काम गरेका पौडेलसँग आसन्न महाधिवेशन, महामन्त्रीमा उम्मेदवारी दिने तयारी र सससामयिक विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः
नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । यसलाई कसरी नियाली राख्नुभएको छ ?
औपचारिकरूपमा १४ औं महाधिवेशन प्रारम्भ भएको छ । धेरै ठाउँमा निर्विरोध नेतृत्व भएन भएको छ । निर्वाचन भएका ठाउँमा हार्दिकतापूर्वक र विधिसंगठ ढंगबाट नेतृत्व चयन भएको छ । कांग्रेस अधिवेशनमा प्रवेश गरेको छ ।
क्रियाशील सदस्यता विवादका कारण १३ वटा जिल्लामा मात्रै अधिवेशनको प्रक्रिया सुरु हुन बाँकी छ । यी जिल्लामा भएका समस्या के हुन्, त्यसका बारेमा तत्काल निर्णय गरेर अधिवेशनमा पार्टीलाई केन्द्रित गराउन आवश्यक छ । पहिला क्रियाशील सदस्यता टुंगिदैन, छानविन हुँदैन, यो नभएका कारण अधिवेशन सम्भव छैन भन्ने गरिन्थ्यो । अब त्यो अवस्था रहेन । अहिले देशैभर अधिवेशन भइरहेको स्थिति छ ।
देशभर यसरी महाधिवेनको माहोला बनिरहँदा पार्टीभित्रको गुट-उपगुटका आ-आफ्नै तयारी पनि भइरहेको छ । तपाईं अहिले कुन गुटमा हुनुहुन्छ ?
दलहरूभित्र गुट नै हुँदैन भन्ने होइन । तर, गुट निर्माणको प्रक्रिया विचार, कार्यशैली र व्यवहारसँग जोडिनुपर्छ । त्यसैले व्यक्तिलाई देवत्त्करण गर्नका निम्ति गुट आवश्यक छैन । वैचारिक ढंगको गुट हुन आवश्यक छ । यस्ता प्रश्नको जवाफ सीधा ढंगबाट हुन सक्दैन । आन्तरिक विषय हो । म कुन गुटमा छु भन्ने परिचय खुलेकै छ । गुटहरू अधिवेशनको सन्दर्भमा बन्ने, पुनर्गठन हुने, साना गुटहरू ठूलो हुने, ठूला गुटहरू सानो हुने गणितीय खेलहरू हुनु स्वभाविक हो ।
१३ औं महाधिवेशनमा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा विजयी हुनुभयो । १४ औं महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने तयारी गर्दै हुनुहुन्छ ?
म दुई पटक केन्द्रीय सदस्य भइसकेको छु । यो भूमिकालाई कार्यकारी भूमिकामा बदल्ने मेरो चाहना छ । यसपटक पदाधिकारी बन्ने सोच बनाएको छु । पदाधिकारीभित्र पनि महामन्त्रीमै मेरो उम्मेदवारी रहन्छ । तर,औपचारिकरूपमा मैले घोषणा गरिसकेको छैन । किनकी क्रियाशील सदस्यता छानविनको काम सकिएको छैन । म छानविन समितिको सदस्य थिएँ । औपचारिकरूपमा अहिले त्यो समिति छैन । सचिवालयले क्रियाशील सदस्यता टुंग्याउने सन्दर्भमा हामीले सहयोग गरिरहेका छौं ।
दुई पदका लागि चुनाव हुने महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरिसक्नुभयो । तपाईं पनि त्यही पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ । एउटै पुस्ताका तपाईंहरू तीनै जना नेता लोकप्रिय र आशा लाग्दा भए पनि दुई जनाले मात्रै चुनाव जित्नुहुन्छ । तपाईंहरूबीच सहकार्य गरेर दुई जना मात्रै उम्मेदवार बन्ने अवस्था आउला ?
सभापतिसम्म नै नयाँपुस्ता भनिनेहरूकै ‘सेट’ बनाउने र प्रतिस्पर्धामा उत्रने, प्रतिस्पर्धा पनि हार्दिक ढंगबाट गरेर उदाहरण प्रस्तुत गर्ने मेरो चाहना हो । तर त्यसो हुन सकेन । मूल नेतृत्वमा कोही पनि जान नचाहेपछि त्यसपछिका पदहरूमा प्रतिस्पर्धा हुनुलाई स्वभाविक लिनुपर्छ । किन भने ती पदहरू एउटा मात्रै छैनन् । बहुसंख्यामा छ । बहुसंख्यामा भएका पदहरूमा प्रतिस्पर्धा गर्दा एउटै पुस्ताका सँगै हुन पनि सकिन्छ ।
कुनै पदमा उम्मेदावारी दिनु मात्र ठूलो कुरा होइन । मुख्य कुरा केका लागि उम्मेदवारी दिएको छ ? अहिलेका विविध समस्यालाई कसरी समाधान गर्छ ? सच्चिने, सुध्रिने र सशक्तिकरण बढाउने सवालमा उसले ठोस मुद्दाहरू के ल्याएको छ ? अथवा पार्टीलाई दीर्घकालीन रूपमा सैद्धान्ति र व्यवहारिक पक्षबाट सुधार गर्नका निम्ति कस्ता विचार बोकेर आएको छ ? भन्ने हो ।
पार्टीको आन्तरिक प्रशासन चुस्तदुरुस्त र वैज्ञानिक छैन । अधिवेशनमा क्रियाशील सदस्यताका बारेमा ठूलो विवाद आउनुको कारण पनि त्यो हो ।
हामीले विषयहरूको आधारमा प्रतिस्पर्धा गर्ने स्थिति निर्माण गर्ने हो भने पार्टीभित्र नयाँ विचार उत्पादन हुन सक्छ । वैचारिक प्रतिस्पर्धा हो भन्ने मानेर हामीले त्यसलाई प्रस्तुत गर्न जरुरी छ । कुनै व्यक्तिले प्राविधिक हिसावले चुनाव जित्ने एउटा कुरा हो तर धेरै व्यक्तिहरू उठ्दा धेरै विचार आउन सक्छ । पार्टीलाई दीर्घकालीन रूपमा असर गर्ने, प्रभाव पार्ने विषयहरू लिएर उम्मेदवारहरू आउन सकेको अवस्थामा कोही निर्वाचित हुन सक्छ । निर्वाचित हुनका निम्ति प्रतिस्पर्धा गरेका व्यक्तिहरूले थुप्रै विषयहरू ल्यायो भने त्यसले पार्टीलाई लाभ हुन्छ भन्ने मलाई लाग्छ ।
महामन्त्रीमा उम्मेदवारी घोषणा कहिले गर्नु हुन्छ ? तयारी के कस्तो छ ?
अब छिटै नै घोषणा हुन्छ । महामन्त्री भनेको पूर्ण कार्यकारी पद हो । त्यसले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा हाम्रो विधानले धेरै प्रस्ट्याएको छ । सभापतिकै हाराहारीमा जिम्मेवारी भएको पद भएकोले महामन्त्रीले आन्तरिक सुधारका विषयहरू पनि उठाउन सक्छ । सार्वजनिक मुद्दाका विषयहरू, पार्टी स्पष्ट हुन नसकेका वाह्य विषयहरूलाई पनि महामन्त्रीले नेतृत्व गर्न सक्छ । महामन्त्री पदमा आकांक्षा राखिरहँदा आन्तरिक विषयलाई कसरी सुधार गर्ने ? बाह्य विषयमा कसरी प्रस्टता ल्याउने ? भन्नेमा स्पष्ट हुन आवश्यक छ ।
पार्टीको आन्तरिक प्रशासन चुस्तदुरुस्त र वैज्ञानिक छैन । अधिवेशनमा क्रियाशील सदस्यताका बारेमा ठूलो विवाद आउनुको कारण पनि त्यो हो । त्यसैले आन्तरिक प्रशासनलाई चुस्तदुरुस्त बनाउने, पार्टीलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउने, त्यसलाई अझ लोकतान्त्रिक ढंगबाट सञ्चालन गर्ने, आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्ने यी आन्तरिक विषयहरू हुन् । बाह्य विषयहरूका सवालमा, कांग्रेसले भन्र्दै आएको समाजवादलाई वर्तमान परिप्रेक्ष्यमा कसरी परिभाषित गर्ने ? कसरी कार्यान्वयन गर्ने ? जनजीविकाका मुद्दाहरूलाई कसरी उठाउने ? शिक्षा, स्वास्थ्यका सवालहरूमा जे भइरहेको छ, त्यसैले काम चलाउने होकी योभन्दा प्रगतिशील ढंगबाट अगाडि बढ्न चाहन्छौं ।
शिक्षा, स्वास्थ्यको दायित्व कसको हो ? समग्र भौतिक विकासमा कसरी योगदान गर्न सक्छौं ? पर्यावरणको रक्षा गर्नका निम्ति हामीले के गर्न सक्छौं ? राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी सुदृढ गराउन सक्छौं ? राज्यको प्रशासनिक संरचनालाई चुस्तदुरुस्त र निष्पक्ष बनाउन कसरी सक्छौं ? हरेक मानिसहरूले योग्यता र क्षमताअनुसार कसरी आवश्यकता प्राप्त गर्न सक्छ ? अन्तर्राष्ट्रिय जगतमा हाम्रो सम्बन्ध कस्तो हुन सक्छ ? छिमेकी र बाँकी विश्वसँग हामी कस्तो सम्बन्ध राख्न चाहन्छौं ? यी सबै विषयमा प्रस्ट विचारसहित उम्मेदवारी दिनेकुराले पार्टीलाई धेरै राम्रो हुनसक्छ । आम शुभेच्छु, समर्थकहरूले पनि मलाई यही भन्नुभएको छ । अब हाम्रो आशा, भरोसा तपाईंहरूको पुस्तामा छ । त्यसैले तपाईंहरूले हस्तक्षेप गर्नेगरी अगाडि बढ्नूस् भन्नुभएको छ । प्रतिस्पर्धा हुने स्वभाविक हो र प्रतिस्पर्धालाई उदाहरणीय बनाएर अगाडि बढौं भन्ने मेरो दृष्टिकोण छ ।
धेरैजना प्रतिस्पर्धी हुनुभयो भने कार्यकर्ताले सही व्यक्ति छनोट गर्न पाउने स्थिति बन्छ । धेरै उम्मेदवार हुनुभयो भनेर आत्तिनु पर्ने कुनै कारण छैन । धेरै मध्येमा राम्रोलाई छनोट गर्ने हो ।
अधिवेशन सम्पन्न भइसकेका अधिकांश ठाउँबाट युवाहरू आइरहेका छन् । कांग्रेस युवामय हुनुले केन्द्रीय नेतृत्वमा युवा आवश्यक छ भन्ने संकेत गरेको हो ?
पक्कै पनि । हामीले प्रतिनिधित्वको संख्या बढायौं । कम्तिमा १५० सम्म क्रियाशील सदस्यता भएको वडाबाट सभापतिसहित १६ जना क्षेत्रीय प्रतिनिधि हुने भन्ने हाम्रो व्यवस्था थियो । धेरैजना सहभागी हुने स्थिति भएपछि नयाँ पुस्ता, पुराना पुस्ता, सबै त्यसभित्र अट्ने स्थिति बन्यो । कांग्रेसमा पुरानो पुस्ता आउनु भएकै छैन भन्ने होइन । हिजो जो कांग्रेसको राजनीतिमा हुनुहुन्थ्यो उहाँहरू पनि आउनु भएको छ । सँगसँगै नयाँ पुस्ता पनि आउन आएको छ ।
पूर्ण समावेशीताको अवस्था लागु गरिएको छ, भइसकेको छ त भन्दिनँ । विगतको स्थितिभन्दा तुलनात्मक रूपमा बढी हुने स्थिति देखिएको छ । क्षेत्रीय प्रतिनिधिहरू एउटा वडामा ६०/६५ प्रतिशतको हाराहारीमा ३५ वर्षभन्दा मुनिको हुनुहुन्छ । क्षेत्रीय प्रतिनिधिहरूले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नुहुन्छ । महाधिवेशन प्रतिनिधिहरू पनि युवा उमेरको आउनुभयो भने केन्द्रीय नेतृत्व त्यही उमेर समूहको ल्याउन खोज्नुहुन्छ । यो पटकको महाधिवेशनमा दोस्रो पुस्ता भनिनेहरूको बढी प्रतिनिधित्व हुने सम्भावना छ ।
१३ वटा जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । कसरी विवाद टुंगिन्छ ? विवाद टुंग्याउन के प्रयास भइरहेको छ ?
पुरै जिल्लाामा नभएर जिल्लाका केही ठाउँको सदस्यता विवाद हो । २ नम्बर प्रदेशको ८ वटा जिल्लामा पनि पुरै जिल्लाभर विवाद भएको होइन । जिल्लाभित्रको क्षेत्र र क्षेत्रभित्रको वडामा समस्या सुल्झिन नसकेको कारणले त्यो सम्पूर्ण जिल्लामा रोकिएको हो । ४२ क्षेत्रको वडा अधिवेशन हुन बाँकी छ । त्यसको मतलब ४२ वटै निर्वाचन क्षेत्रभित्रका सबै वडामा विवाद छ भन्ने होइन । ९५ प्रतिशत वडाहरूमा समस्या समाधान भइसकेको छ । बढीमा ४/५ प्रतिशत वडाहरूमा चैं समस्या सुल्झिन बाँकी रहेको हुनसक्छ । बाँकीको सन्दर्भमा केही समस्याहरू भएको कारणले रोकिएको छ । त्यसैले निर्णयअनुसार कार्यान्वय गरिदिएर त्यस ठाउँहरूमा अधिवेशन गर्ने स्थिति निर्माण गर्नुपर्छ ।
१३ औं महाधिवेशनले चुनेको नेतृत्वले पार्टी र देशका लागि कस्तो भूमिका निर्वाह गर्यो ? १४ औँ महाधिवशेनमा पनि यही नेतृत्व चुनिए के हुन्छ ?
नेतृत्वले राम्रो गर्यो या गरेन हाम्रो आन्तरिक विषय हो । कांग्रेसको नेतृत्वमा आउनु भएका नेताहरूले फेरि दाबी गरिरहँदा कार्यशैलीलाई मूल्याङ्कनको आधार बनाउनुपर्छ । उहाँहरूले जिम्मेवारी प्राप्त गरेको अवस्थामा कस्तो कार्यसम्पादन गर्नुभयो ? त्यसको आधारमा मतदाताले मूल्याङ्कन गर्ने स्थिति बन्छ । त्यसैले यो पटकको अधिवेशनमा नेतृत्व गइसक्नु भएका नेताहरूको मूल्याङ्कन गर्दै उहाँहरूको कार्यशैलीलाई आधार बनाइन्छ भन्ने मलाई लाग्छ ।
हामीले विषयहरूको आधारमा प्रतिस्पर्धा गर्ने स्थिति निर्माण गर्ने हो भने पार्टीभित्र नयाँ विचार उत्पादन हुन सक्छ ।
त्यसो भए नेतृत्व कसरी छनोट गर्ने ?
नेतृत्व छनोट गर्ने सवालमा को व्यक्ति कुन विषय बोकेर आएको छ ? भनेर हेर्नुपर्छ । विगतमा त्यसरी आएको थिएन भने पनि अहिले सच्चिएर आएको, विषयहरू लिएर आएको छ, स्वभाविक ढंगबाट आएको छ, प्रतिस्पर्धामा सही विचारलाई अगाडि बढाएको छ भने कार्यकर्ताले मूल्याङ्कन गर्ने आधार ती विषयहरू बन्न सक्छन् । त्यसैले व्यक्तिहरूको प्रतिस्पर्धा होइन कि उनीहरूले बोकेका विचारहरूको प्रतिस्पर्धा हो । कार्ययोजनाको प्रतिस्पर्धा हो । त्यस आधारमा नेतृत्व छनोट गरिनुपर्छ ।
अहिलेको नेतृत्वलाई परिवर्तन गर्न के गर्नुपर्छ ?
पहिल्यै पदमा पुग्नु भएका नेताहरूको मूल्याङ्कन गर्ने आधार भनेको उहाँहरू नेतृत्वमा पुगेपछि कसरी कार्यसम्पादन गर्नुभयो ? भन्ने हेरेर हुन्छ । उहाँहरूले पार्टीको नेतृत्व गरिरहँदा पार्टीलाई कति प्रभावकारी बनाउनुभयो ? कति कमीकमजोरीरहित ढंगबाट उहाँहरू अगाडि जानसक्नुभयो भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्छ । म पनि केन्द्रीय कमिटी सदस्य हो । मेरो मूल्याङ्नको आधार पनि त्यही नै बन्छ । हामी प्रक्रियामा गइसकेपछि बनाउने दृष्टिकोण हो । आम कार्यकर्ताले मूल्याङ्कनकोे आधारमा नेतृत्व छनोट गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।
कांग्रेसमा महिलाहरू केन्द्रीय सदस्यमा नै सीमित हुनुको कारण के हो ? पुरुष नेतृत्वले हस्तक्षेप गरेर कि महिलाहरूनै असक्षम भएर हो ?
महिलाले मात्रै प्रतिनिधित्व गर्ने गरी पदाधिकारीको पनि व्यवस्था गरिएको छ । खुला प्रतिस्पर्धामा आउन महिलाहरू डराइरहनु भएको होकी भन्ने देखिन्छ । हामीले समावेशीतालाई अँगालेको पनि धेरै समय भइसकेको छैन । महिला नेताले मौका पाउँदा राम्रो काम गर्नुहुन्छ । विस्तारै महिलाहरू तलबाट आइरहनु भएको छ । माथि पुगेर हस्तक्षेप गर्ने, पार्टीको मुल नेतृत्वमै पुग्नका निम्ति समय लाग्न सक्छ तर पुग्ने निश्चित छ ।
आरक्षणमा लड्नुभएका महिलाहरू अब खुलामा आएर लड्नुहुन्छ । पहिला सदस्यमा लड्नुभएका पदाधिकारी लड्नुहुन्छ । त्यसैले महिलाहरू अगाडि आउने स्थिति बनिरहेको छ । जति छिटो हुनुपर्ने त्यो हुन सकेको छैन । संविधानमा समावेशीता, महिलामैत्री व्यवस्था भए पनि त्यो व्यवहारमा लागु हुन सकिरहेको छैन । महिलामैत्री संविधानजस्तै गरी हामीले हाम्रो पार्टीलाई बनाएका छौं । आगामी दिनमा पार्टीको मूल नेतृत्वमा उहाँहरू आउने वातावरण बन्दै गएको छ ।
केन्द्रीय सभापतिका लागि धेरै नेताहरू आकांक्षी देखिनु भएको छ । कतिपयले उम्मेदवारी घोषणा गर्न बाँकी नै छ । एक पदका लागि धेरै आकांक्षी हुनुले के अर्थ राख्छ ?
कांग्रेस पुरानो पार्टी हो । धेरै नेताहरू सक्रिय हुनुहुन्छ । त्यस कारण अधिवेशनमा प्रतिस्पर्धा हुने, सेन्टरहरू बन्ने, उम्मेदवारी धेरैले दिनु आफैंमा स्वभाविक छ । धेरैजना प्रतिस्पर्धी हुनुभयो भने कार्यकर्ताले सही व्यक्ति छनोट गर्न पाउने स्थिति बन्छ । धेरै उम्मेदवार हुनुभयो भनेर आत्तिनुपर्ने कुनै कारण छैन । धेरै मध्येमा राम्रोलाई छनोट गर्ने हो । धेरै प्रतिस्पर्धी हुनुभएन, दुई जना मात्रै हुनुभयो भने त्यही दुई जनाबाट रोज्न बाध्य भइन्छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
शेरबहादुर देउवा १४ औं महाधिवेनबाट दोहोरिनु होला या नहोला तर करिब पाँच वर्ष पार्टीको नेतृत्व गर्नुभयो । उहाँको नेतृत्वकालमा पार्टीको अवस्था कस्तो रह्यो ? के गर्नुपथ्र्यो, के गर्न सक्नुभएन ?
यो सार्वजनिक टिकाटिप्पणीको विषयभन्दा पनि हाम्रो आन्तरिक विषय हो । यसलाई आन्तरिक मूल्याङ्कनको विषय बनाउनुपर्छ । पार्टी सञ्चालन प्रक्रियामा नेतृत्वले कति सहि काम गर्यो कति गलत काम गर्यो त्यसको समीक्षा हुनुपर्छ । त्यसको आधारमा मूल्याङ्कन गरेर नेतृत्व छनोट गरिनुपर्छ । वर्तमान पार्टी नेतृत्वकै अवधिमा हामीले निर्वाचन पनि हारेका छौं । निर्वाचनको विषयमा महाधिवेशनले नै समीक्षा गर्ला । कम्युनिस्ट फुट्ने हो भने स्वतः सरकारको नेतृत्व गर्न पाउँछौं भनेर रौसेको स्थिति छ । तर यस्तो होइन । कम्युनिस्ट फुट्ने, जुट्ने अर्कै विषय हो ।
कांग्रेस सरकारमा नगएर प्रतिपक्षी कित्ताबाट निर्वाचनमा गएको भए बढी लाभ हुन्थ्यो । अहिलेको स्थितिमा सरकार ठूलो परिवर्तन गर्न सक्छ, कामहरू गर्न सक्छ भन्ने मलाई लाग्दैन ।
हामीले आफू कसरी सतर्क हुने, कसरी प्रभावकारी ढंगबाट राष्ट्रिय र आन्तरिक विषय उठाउने, आफैंले कसरी नेतृत्व लिने, कांग्रेसभित्र पनि सच्चिनुपर्ने विषय छ भने त्यसलाई कसरी सच्याउने ? विधि, विधान मुताविक पार्टी कसरी चलाउने ? भन्ने कुरामा हामी स्पष्ट हुन सक्यौं र महाधिवेशनमार्फत् कांग्रेस सच्चिएको, संगठित भएको र नयाँ विषय बोकर आएको सन्देश हामीले दिन सक्यौं भने नेपाली कांग्रेस आगामी निर्वाचनमा पनि विजयी हुन्छ र कांग्रेसले आफूलाई नेतृत्वदायी भूमिकामा उभ्याउन सक्छ ।
हिजोको प्रमुख प्रतिपक्षी दल संघीय र प्रदेश सरकारमा सहभागी भयो । राम्रो काम गर्न नसके आगामी निर्वाचनमा नकारात्मक प्रभाव पादैन ? पार्टीले गर्नुपर्ने काम के हो ?
कांग्रेसलाई अचानक सरकारको नेतृत्व गर्नुपर्ने जिम्मेवारी आइलागेको हो । हामीले केपी शर्मा ओलीको विकल्प खोजेका हौं । त्यो विकल्प कांग्रेस नै बन्नुपथ्र्यो या कांग्रेसले अरूलाई बनाउनु पथ्र्यो त्यो एउटा विषय हुनसक्छ । मेरो विचारमा, कांग्रेस सरकारमा नगएर प्रतिपक्षी कित्ताबाट निर्वाचनमा गएको भए बढी लाभ हुन्थ्यो ।
अहिलेको स्थितिमा सरकार ठूलो परिवर्तन गर्न सक्छ, कामहरू गर्न सक्छ भन्ने मलाई लाग्दैन । यो गठबन्धनको सरकार हो । यसका आफ्नै खालका अफठ्याराहरू हुन्छन् । त्यसैले यस सरकारले विवादास्पद नियुक्तिहरू नगरिदिए हुन्थ्यो, कामहरूलाई छिटोछिटो सम्पादन गरिदिए हुन्थ्यो ।
जनताले नकारात्मक ढंगले हेर्ने काम नगरिदिएर सन्तुलित ढंगबाट सरकार सञ्चालन गर्ने र यसबीचमा निर्वाचनमा जाने परिस्थिति बन्यो भने नेपाली कांग्रेसलाई फाइदा हुन सक्छ । सरकारका कमजोरी देखिन थाल्यो । मन्त्रिपरिषद् समयमा नै गठन हुन सकेन । अरू क्षेत्रमा पनि सही ढंगले प्रस्तुत सकेन भन्ने टिकाटिप्पणी आइरहेका छन् ।
सरकार लामो समय चल्नुभन्दा यो सरकारले संवैधानिक व्यवस्थाभित्रै बसेर छिट्टै निर्वाचन गरेर निकास दिनु बढी स्वभाविक हुन्छ । सरकारले राम्रो काम गर्न सकेन र बढी आलोचना हुने किसिमको काम मात्रै गर्यो भने त्यसले प्रत्यक्ष रूपमा निर्वाचनमा असर गर्छ । हामीले हाम्रो नेतृत्वलाई यस विषयमा भनिरहेका छौं । यसमा विशेष ढंगले छलफल र गृहकार्य हुन आवश्यक छ । धेरै राम्रा कुराहरू हुन नसके पनि नराम्रा काम नहोस् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij