वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा प्रतिनिधिसभा सदस्य डा.डिला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छिन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेकी हुन् ।
‘हाम्रो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन । लोकतन्त्रको मूलभूत मान्यता भनेको स्वतन्त्र न्यायापालिका पनि हो । सर्वोच्च अदालतमा छलफल चलेका विषयमा कांग्रेसले कहिल्यै पनि हस्तक्षेप गर्दैन । यो विषयमा गठबन्धन दलभित्र छिनोफानो गर्नुपर्छ । पार्टीले संस्थागत रुपमा यो विषयमा छलफल गरेको छैन । संसदीय दलमा पनि यो कुरा छलफल भएको छैन । व्यक्तिगत रुपमाभन्दा यो कुरा अदालतबा टुंगो लगाउने वा संसद्बाट टुंगो लगाउने हो ? गठबन्धनमा छलफल होस्,’उनले भनिन् ।
उनले न्यायापालिका जनताको आत्माको केन्द्रविन्दु भएको बताइन् । उनले भनिन्, ‘न्यायापालिका स्वतन्त्र र निश्पक्ष हुनुपर्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका शक्ति पृथीकरणअनुसार चल्नुपर्छ । हेर्नुहोस्, सबै नेपाली जनताको आस्थाको केन्द्र सर्वोच्च अदालत नै हो । अहिले नेपाली जनतामा निराशा पैदा भएको छ ।’
उनले सर्वोच्च अदालत स्वतन्त्र रहेको सुनाउँदै यसको दायराभित्र हस्तक्षेप गर्न नहुने पनि बताइन् । उनले भनिन्, ‘विद्यमान समस्याको निरुपण त्यही क्षेत्रमा, त्यही मातहतमा बसेर खोजी गर्दा राम्रो हुन्छ । हरेक कुरामा राजनीति छिरायो भने राम्रो हुँदैन । सबै पार्टीका नेतागणहरूले मुलुकको निकासको लागि खासगरी उहाँहरु राष्ट्रिय इस्यूको बारेमा एकमत हुनुपर्छ । छिटो गठबन्धन दलभित्र अहिलेको न्यायालयको निकासबारे छलफल हुनुपर्छ । यसको निरुपण संसदले गर्ने कि न्यायालयले ? भनेर छलफल हुनुपर्छ । यो समस्या यथास्थितिमा यथावत राख्दा ठूलो संकट आउँदैछ भनेर विज्ञहरू भनिरहेका छन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij