काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल खोल्ने भएका छन् । गत जनवरीको ६ मा संसद भवन क्यापिटोल हिल्समा भएको हिंसात्मक दंगापछि ट्विटर, फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालले ट्रम्पलाई प्रतिबन्ध लगाएपछि उनले आफ्नो उपस्थितिका लागि नयाँ सञ्जाल बनाउन लागेका हुन् ।
ट्रम्पका वरिष्ठ सल्लाहाकारले आगामी दुई–तीन महिनामा आफ्नै नयाँ सोसल मिडिया प्लेटफर्म लन्च गर्ने गरी ट्रम्पले तयारी गरिरहेको आइतबार खुलासा गरेका हुन् । ट्रम्पको ट्विटर खाता जनवरी ९ देखि स्थायी रुपमा बन्द गरिएको छ । ट्विटर, फेसबुकपछि स्न्यापच्याट, यूट्यूब, ट्वीच र रेडडिटले पनि ट्रम्पलाई सम्बन्धित प्लेटफर्ममा प्रतिबन्ध लगाएको छ ।
ट्विटरले ट्रम्पको ट्विटबाट पुनः हिंसा भड्काउन सक्ने आशंकापछि उनको खाता बन्द गरेको थियो । सामाजिक सञ्जालमा उत्तेजक पोस्ट गर्दै आफ्ना समर्थक भड्काएर संसद भवन आक्रमण गरेको आरोप ट्रम्पमाथि लागेको छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचन भएको ६४ दिनपछि जनवरी ६ मा संसदले जो बाइडेन जितलाई औपचारिक घोषणा गर्न संसद चलिरहेको समयमा ट्रम्पका समर्थकहरुले संसद भवनभित्र जबरजस्ती पसेर दंगा गरेका थिए । ट्रम्प समर्थकहरूले गरेको दंगाले संसदको कारवाही केही समयका लागि रोकिएको थियो । यस हिंसामा कम्तिमा चार जनाको मृत्यु भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij