Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

शिक्षामा सबैलाई समान अवसर दिलाउने दायित्व राज्यको हो : रूपनारायण श्रेष्ठ, विद्यार्थी नेता [अन्तर्वार्ता]

शिक्षामा सबैलाई समान अवसर दिलाउने दायित्व राज्यको हो : रूपनारायण श्रेष्ठ, विद्यार्थी नेता [अन्तर्वार्ता]

  • 272
    SHARES
  • शिक्षामा सबैलाई समान अवसर दिलाउने दायित्व राज्यको हो : रूपनारायण श्रेष्ठ, विद्यार्थी नेता [अन्तर्वार्ता]

    सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष हुन् रूपनारायण श्रेष्ठ । उनी २०७६ भदौ ८ देखि सो भूमिकामा छन् । गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका-१ का श्रेष्ठले २०५८ सालदेखि विद्यार्थी संगठनमा आबद्ध भएर सक्रिय राजनीति सुरु गरेका हुन् । तत्कालीन माओवादी सशस्त्र विद्रोहमा संलग्न श्रेष्ठलाई २०६० सालमा सेनाले पक्राउ गरेको थियो । २०६६ सालमा विद्यार्थी संगठनको केन्द्रीय सदस्य हुँदै श्रेष्ठ नयाँ शक्ति विद्यार्थी युनियनको प्रवक्ता पनि भए । उनीसँग विद्यार्थी संगठनहरूको आन्दोलन, संगठनहरूको अवस्था, भूमिकामा केन्द्रीत हुँदै जसपाको विभाजन, त्यसअघिको पार्टी एकताहरूका विषय केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :   

    अहिले विद्यार्थी संगठनहरू के गर्दैछन् ?

    विद्यार्थी संगठनहरू यतिखेर जनजीवीकाको सवालमा केन्द्रित भएका छौं । शैक्षिक मुद्दाहरूमा आवाज उठाउने र शैक्षिक रूपान्तरणका लागि दबाब दिनेजस्ता कार्यहरू गर्दै आएका छौं र गरिरहने छौं । सरकार जनअपेक्षाअनुसार काम गर्न लागिरहेको छ । हामी सरकारलाई सघाउने गरी काम गरिहरहेका छौं । राजनीति नियमित चल्ने प्रक्रिया हो । केपी शर्मा ओलीको तत्कालीन सरकारले नेपालमा दुई पटक संसद्माथि ‘कू’ गरे । त्यसको विरोधमा विद्यार्थी संगठनहरू आन्दोलनमा होमियो । दुई पटक नै संसद् पुनर्स्थापना भयो ।

    यस्ता कामका लागि विद्यार्थी संगठनहरूबीच सहकार्य कस्तो छ ?

    फकर-फरक संगठनमा भए पनि प्रायः हाम्रो सोच, कार्यक्रम, एजेन्डाहरू मिल्छन् । सोही कारण हामी एउटै संगठन जस्तो भएका छौं । छलफल, भेटघाट, बैठकहरूबाट निष्कर्षमा पुगेर संयुक्त रूपमा संघर्षका कार्यक्रम अगाडि बढाइरहेका छौं । 

    विद्यार्थी संगठनबीच हुने सहकार्य के का आधारमा हुने गर्छ ?

    सामान्य मतभेद भए पनि मुलभूत रूपमा हाम्रा विचारहरू पनि धेरै टाढा छैनन् । हामी सबैले संघीय गणतन्त्र स्वीकार गरेका छौं । शिक्षा प्रणाली सुधारका लागि संघर्षरत छौं । शिक्षा मौलिक अधिकार हो । यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने सन्दर्भमा पनि हामी एकमत छौं । आधारभूत विषयहरू हामी एकमत भएको कारणले गर्दा सँगसँगै छौं । नेविसंघका साथीहरूले निजी शैक्षिक संस्थाहरू पनि सञ्चालन हुन दिनुपर्छ भन्नुहुन्छ । तर, हामीले निजी शैक्षिक संस्थाको जिम्मेवारी राज्यले लिनुपर्छ भनिरहेका छौं । शिक्षा र स्वास्थ्यजस्तो अति महत्त्वपूर्ण सवालहरूलाई राज्यले जिम्मा लिनुपर्छ । राज्यकै दायित्वको सवाल हो भनेर हामीले भनेका छौं ।

    कोरोनाकालमा विद्यार्थी संगठनहरूले विद्यार्थीका लागि कस्ता काम गरे ?

    कोरोनाकालमा सबैभन्दा बढी मर्कामा विद्यार्थीहरू नै पर्नुभयो ।  गाउँबाट शहर आएर डेरा लिएर बस्ने सार्थीहरूका लागि निकै समस्या भयो । शैक्षिक संस्थालगायत सबै आकस्मिक ढंगले बन्द भइसकेपछि घर फर्किन समस्या थियो । त्यतिबेला हामीले उहाँहरूलाई घर फर्किन बसहरूको व्यवस्था गर्‍यौं । कतिपय साथीहरू होस्टलमा बस्नुहुन्थ्यो । उहाँहरूलाई हामीले खाद्यान्नको व्यवस्था गर्‍यौं । स्वास्थ्य सामग्रीहरू मास्क, सेनिटाइजर बाँड्यौं । विद्यार्थी संगठन विद्यार्थीहरूको संरक्षक पनि हो । अभिभावक हो । त्यसैले यो संकटको बेला विद्यार्थीहरूलाई राहत दिनका लागि आफ्नो क्षमताले भ्याएसम्म कुनै कसर बाँकी राखेन । विद्यार्थी सँगसँगै हामी भयौं ।

    आवश्यक पर्दा पढाइ छुटाएर विद्यार्थीहरूलाई आन्दोलनमा सहभागी गराउने, झण्डा बोक्न लगाउने । विद्यार्थीलाई समस्या पर्दा संगठनले वास्ता गर्दैनन् भन्ने आरोप छ । यसबारे के भन्नुहुन्छ ?

    यो मिथ्या आरोप हो । किनभने विद्यार्थी संगठन भनेकै विद्यार्थीका लागि हो । प्रतिनिधि हो । म आफैं पनि विद्यार्थी हो । मसँग हुनुभएका, हाम्रो संगठनमा हुनु भएका सबै सार्थीहरू क्याम्पस र विश्वविद्यालयमा विद्यार्थीहरू नै हुनुहुन्छ । त्यसकारण विद्यार्थीको साथी विद्यार्थी नेता । विद्यार्थीको साथी नै विद्यार्थी भएको हुनाले विद्यार्थीलाई स्वार्थको लागि परिचालन गर्ने, प्रयोग गर्ने भन्ने आरोप झुट हो । तर, हामीले विद्यार्थीको सबै आवश्यकता र भावनालाई सम्बोधन गर्न सकेका छैनौं र सक्ने कुरा पनि भएन । राज्यकै दायित्व हो । हामीले सक्ने ठाउँमा विद्यार्थीहरूसँग सहकार्य गरेका छौं । विद्यार्थीहरूसँगै बसेका छौं । विद्यार्थीहरूको समस्यालाई उजागर गरेका छौं । उहाँहरूको भावनालाई सम्बोधन गर्ने प्रयास गरेका छौं । हामी विद्यार्थीहरूसँगै हुन्छौं । 

    विद्यार्थी संगठनको भूमिकालाई हेर्दा आफ्नो पार्टी सरकारमा हुँदा जुन कुरालाई सहजै पचाउनु हुन्छ, अर्को पार्टीको हुने बित्तिकै त्यसैमा कोकोहोलो मच्चाउने प्रवृत्ति छ । यस्तो किन ?

    यदि कसैले त्यस्तो गरेको छ भने त्यो बेइमानी हो । हाम्रो संगठनले पार्टी प्रतिपक्षमा होस् या विपक्षमा हुँदा त्यस्तो कार्य गरेको छैन । जनभावनाविपरित भएमा कामको हामीले विरोध गर्दै आएका छौं र गर्छौं पनि । विद्यार्थी आन्दोलन भनेको प्रतिपक्षको आन्दोलन हो । सडकको नेतृत्व गर्ने आन्दोलन हो । 
    विश्वविद्यालयमा त हुने नै भयो तर राजनीतिक मुद्दा, जनजीवीकाका मुद्दाहरूमा विद्यार्थी संगठनहरू सडकमा हुन्छ । आफ्नो पार्टी सत्तामा छ कि छैनसँग मतलब राख्नु हुँदैन । त्यसो गर्ने हो विद्यार्थी संगठनको आवश्यकता पनि छैन । पार्टीले भूमिका निर्वाह गरेकै छ नि ! जसको सरकार भए पनि विद्यार्थी संगठन भनेको जनतालाई, विद्यार्थीलाई परेको मर्काको बारेमा प्रतिपक्षको भूमिकामा हुनुपर्छ ।

    सरकारको नेतृत्वमा विद्यार्थी संगठनबाट नै आएका नेताहरू हुनुहुन्छ । यो नेतृत्वबाट विद्यार्थीको हकहितमा कामहरू हुने अपेक्षा गर्नुभएको छ ?

    हामीले यही प्रश्न उहाँहरूलाई पटक-पटक भेट्दा गरेका छौं ।

    के भन्नुहुन्छ त ?

    हिजो विद्यार्थी आन्दोलन हाँक्नु भएको मुख्य पात्रहरू नै आज प्रधानमन्त्री र मन्त्रीहरू हुनुुहुन्छ । तर, बिडम्बना उहाँहरूले हिजो जुन रफ्तारका साथ आन्दोलन गर्नुहुन्थ्यो, त्यसलाई पक्रेर आज जनताको पक्षमा काम गर्ने ठाउँमा पुग्दा काम गर्न सक्नुभएको छैन । सफल हुनु भएको छैन । चुक्नु भएको छ । के कारण हो ? हामीले प्रश्न पनि गर्‍यौं । हामीले प्रश्न गर्दा उहाँहरूले हाम्रो संविधान, विधान छ । त्यसभन्दा बाहिर गएर कुनै काम गर्न सक्दैनौं भन्नु हुन्छ । त्यसो भनेर उहाँहरूले सुख पाउनुहुन्न । कानुन बनाउने पनि उहाँहरू नै हो । संविधान बनाउने पनि उहाँहरू नै हो । उहाँहरूले जनताको पक्षमा काम गर्न संविधानले रोक्छ भने त्यो बदल्नु पर्छ । त्यो बदल्न कसले रोक्यो ? रोक्ने पक्ष को हो ? त्यो उहाँहरूले प्रस्ट पार्नुपर्‍याे ।

    मेरो आफ्नो बुझाइ के भने हाम्रो राजनीति गर्ने शैली, निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्छ । राजनीति गर्ने हाम्रो शैली, प्रणाली, आन्दोलन धेरै खर्चालु छ । महंगो छ । सांसद् पद जित्नका लागि करोडौं खर्च गर्नुपर्ने बाध्यता छ । यसलाई हामीले रूपान्तरण नगर्ने हो भने उहाँहरूले पनि केही काम गर्न सक्नुहुन्न । उहाँहरू आफ्नो आर्थिक स्रोत व्यवस्थापन गर्न उद्यत भएको हुनाले चाहेर पनि जनताको पक्षमा काम गर्न नसकेको स्थिति हो । राजनीतिक संस्कार, राजनीतिक प्रणाली, पार्टी संरचना, सिस्टम सबै बदल्नुपर्ने अवस्था आइसकेको छ ।

    त्यसो भए अब विद्यार्थीका समस्या कसले समाधान गर्छ त ?

    विद्यार्थीको समस्या हल गर्नु भनेको आम अभिभावकलाई सम्बोधन गर्नु हो । अहिले पनि अभिभावकहरू आफ्ना बच्चालाई उचित शिक्षा दिलाउन कठोर संघर्ष गर्न बाध्य छन् । महंगो शुल्क तिरेर अहिले निजी विद्यालयमा नै बालबच्चा पढाउनुपर्ने अवस्था छ । मजदुरहरूले भारी बोकेर भए पनि आफ्ना बालबच्चालाई निजी विद्यालयमा नै पढाइरहेका छन् । सामुदायिक विद्यालयहरूमा गुणस्तर नभएकाले आकर्षण नै छैन ।

    हामीले सम्बोधन गर्नुपर्ने विषय भनेको कुनै पनि अभिभावकले बालबच्चा पढाउन चिन्ता गर्न नपरोस् । शैक्षिक वातावरणमा समान अवसर दिएर राज्यले दायित्व बहन गर्नुपर्छ । पहिलो मुद्दा यो हुनुपर्छ । शिक्षा मौलिक अधिकारभित्र पर्ने भए पनि सबैले शिक्षा ग्रहण गर्न पाएका छैनन् । मौलिक अधिकारबाट वञ्चित छन् ।

    सामुदायिक विद्यालयमा सरकारले चासो नदिने, निजी विद्यालयमा पढाउन महंगो पर्ने अवस्था कायमै छ । जसकारण सबैको पहुँचमा शिक्षा पुग्न सकेको छैन । राज्यले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न ध्यान नै दिएको छैन । विद्यार्थी संगठनहरूले नीतिगत कुरामा सरकारको ध्यानाकर्षण गराउने हो । कार्यान्वयनका लागि दबाब दिने हो । सबैले समान शिक्षा र अवसर पाउनु पर्‍याे । त्यो निःशुल्क पाउनु पर्‍याे । यो विषय हामी निरन्तर उठाउँछौं । सम्बोधनका लागि दबाब दिन्छौं । यसका लागि समाजवादी विद्यार्थी युनियन मात्रै होइन, सबै पार्टीका विद्यार्थी संगठनहरूलाई अपिल गरेर देशव्यापी रूपमा आन्दोलनको सृष्टि गर्छौं र सरकारले सम्बोधन गर्नुपर्ने बनाउँछौं ।

    यो आन्दोलन कहिले सुरु हुन्छ ?

    यसका लागि हामीले छलफल थालेका छौं । आन्दोलन गर्न चाहिने शक्ति र संगठन निर्माण गर्ने प्रक्रियामा हामी छौं । हिजोका दिनमा जस्तो विद्यार्थी संगठनहरू झै झगडा, कुराटाकुट गर्ने, तरबार नै हान्ने, टाउको फोर्ने प्रवृत्ति अहिले छैन । संगठनहरूबीच सहकार्य, छलफल, बहस हुन्छ । यसले शक्ति निर्माण गर्छ । सबै संगठनले देशभर आफ्नो संरचना खडा गर्छ । त्यसलाई हामी आन्दोलनमा रूपान्तरण गरेर सरकारलाई दबाब दिन्छौं । बाध्य भएर सरकारले सुन्छ ।

     क्याम्पस राजनीति गर्ने अखडा भयो, विद्यार्थी संगठनहरूको काम छैन भन्ने गरेको पनि सुनिन्छ । यस्तो अभिव्यक्ति किन आएको हो ? यसबारे विद्यार्थी संगठन पनि सचेत होला नि ?

    मूल कुरा राजनीति हो । पार्टीको राजनीतिक कार्यदिशाले उसको संगठनको गतिविधि र कार्यक्रम बन्ने गर्छ । हिजोका दिनमा हामीले गणतन्त्रका लागि बल प्रयोगको सिद्धान्त प्रयोग गर्‍याैं  । विद्यार्थीहरूले ढुंगामुढा पनि गरे । रेलिङ पनि भाँचे । टायर पनि बाले । ध्वंस र दबाबको राजनीति संगठनले गर्दै आयो । गर्नैपर्थ्याे । त्यो नगरेको भए नेपालमा सहजै गणतन्त्र आउने थिएन । त्यतिबेला राजनीतिक चेतना प्रवाह गर्ने सन्दर्भ थियो । राज्यसत्तालाई दबाब दिने सन्दर्भ पनि थियो । त्यसो हुँदा वातावरणमा कहिँ न कहिँ धुमिल चैं भयो ।

    आज गणतन्त्र स्थापना भइसकेको छ । नागरिकहरूले धेरै अधिकारहरू प्राप्त गरेका छन् । व्यवहारमा कार्यान्वय हुन बाँकी छ । तै पनि हिजोका दिनमा जस्तो अधिकारका लागि, लोकतन्त्रका लागि लड्नुपर्ने अवस्था छैन । अबको विद्यार्थी आन्दोलन ध्वंसात्मक होइन, रचनात्मक बन्छ । यसले निर्माणको काम गर्दै सकारात्मक भूमिका निर्वाह गर्छ । विद्यार्थीहरूलाई सुविधा र अधिकार दिने सन्दर्भमा खबरदारी, जागरणको काम गर्छ । आजका दिनमा हाम्रो संगठनले मात्रै होइन, सबै संगठनहरूमा सहकार्यकै वातावरण छ । हिजोका दिनमा जस्तो क्याम्पसहरूमा झडपको स्थिति, बन्दहड्ताको स्थिति कम हुँदै गएको छ । यसलाई हामी रूपान्तरण गर्छौैं ।

    रूपान्तरण कसरी सम्भव छ ?

    मुख्यगरी राजनीति कार्यदिशाको सन्दर्भ नै हो । आजको दिनमा कार्यदिशा बदलिएर विकास र समृद्धिको यात्रामा छौं । त्यसो हुँदा हिजोका दिनमा जस्तो विद्यार्थी संगठनहरूका बीचमा झैझगडा नभई सहकार्य गरेर क्याम्पस र विश्वविद्यालयको वातावरण स्वाच्छ, पवित्र र शान्त बनाएर विश्वविद्यालयमा अनावश्यक राजीतिक हस्तक्षेप र दलीयकरणको विरोधमा वकालत गरेर गुणस्तरीय शिक्षा प्राप्त गर्ने ठाउँमा हामी विद्यार्थी आन्दोलनलाई त्यो बहसमा लैजान्छौं । त्यसपछि गुणस्तरीय शिक्षा प्राप्तिको विषय पनि उठ्छ । विद्यार्थी आन्दोलनको संस्कृति पनि बदलिन्छ । विद्यार्थी संगठनमाथि उठेका प्रश्नको जवाफ पनि दिन सकिन्छ ।

    पार्टी एकतापछि विद्यार्थी संगठनहरूबीचको समायोजनको काम सकियो ?

    नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकतापछिको विद्यार्थी संगठनहरूबीच समायोजनको काम लगभग सकिन थालेको छ । राजपासँग पार्टी एकता भएपछि भने समायोजनको काम बाँकी छ । समायोजनको सबै प्रक्रिया पुरा गरेपछि तपाईंहरूले अपेक्षा गरेजस्तो विद्यार्थी संगठन निर्माण गर्दै देशव्यापी संरचना विस्तार गर्छाैं । शैक्षिक एजेन्डालाई विद्यार्थीमुखी कसरी बनाउन सकिन्छ त्यतातिर सोच्छौं ।

    पार्टी विभाजनपछि विद्यार्थी संगठनमा कस्तो असर परेको छ ?

    जसपा विभाजित भएकै छैन । समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको हो । जसपामा महन्थ ठाकुर, राजेन्द्र महतोलगायत केही नेताहरूले पार्टीको नीति, नियम, सिद्धान्तभन्दा बाहिर गएर गतिविधि गर्न थालेपछि र प्रतिगमनलाई सहयोग गर्न केपी ओलीको पछि लागेपछि पार्टीले उहाँहरूलाई कारबाही गर्‍याे । त्यसपछि उहाँहरू आफ्नो बाटो लाग्नुभयो । विद्यार्थी संगठनमा पनि फुटको असर छैन । समाजवादी विद्यार्थी युनियनमा फुट्ने होइन, बरू जोडिने काम भइरहेको छ । माओवादी केन्द्रनिकटका विद्यार्थीहरू, नेत्रविक्रम चन्द (विप्लव)निकटका विद्यार्थीहरू, महन्थ ठाकुर र राजेन्द्र महतोनिकटका थुप्रै विद्यार्थीहरू समाजवादी विद्यार्थी युनियनमा आबद्ध हुनु भएकाे छ । हुनेक्रम जारी छ । 


     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology