वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आशन्न १४ औं महाधिवेशनका लागि आफूनिकट नेताहरूसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका देउवाले छलफल गरेका हुन् ।
देउवाले पछिल्लो समय आफूबाट टाढिएका र सभापति लड्ने तयारीमा रहेका बिमलेन्द्र निधिसँग छलफल गरे । देउवा-निधि सम्बन्ध गत असार ५ गतेदेखि चिसिएको थियो । सम्बन्धमा चिसोपना आउनुको कारण सभापतिको उम्मेदवारी नै थियो ।
१३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन निधिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, यसपटक भने देउवाको प्रतिस्पर्धी बन्ने तयारीमा निधि छन् । यही अवस्थामा देउवाले निधिसँगको सम्बन्ध सुधार गर्ने प्रयत्न गरेका छन् ।
तर, देउवाको प्रयास भने फलदायी हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताको भनाइमा बालुवाटमार देउवा र निधिबीच सवाल-जवाफ भएको थियो । छलफलका क्रममा निधिले आफू सभापतिमा लड्ने तयारी गरिरहेकाले देउवासँग सहयोग मागेका थिए । निधिले असार ५ कै शैलीमा सभापतिमा आफूलाई सघाउन देउवालाई गरेको आग्रह गरेका थिए ।
‘शेरबहादुरजीले १३ औं महाधिवेशनमा मलाई आगामी महाधिवेशनमा सहयोग गर्छु भन्नुभएको थियो । म सभापतिमा उठ्ने हो । सहयोग गर्नुपर्यो,’ निधिको भनाइ थियो । निधिको प्रस्ताव सुनेपछि देउवाको प्रतिक्रिया थियो, ‘सभापतिमा लड्ने अधिकार तपाईंलाई छ । लड्नुहोस् न मेरो शुभकामना छ !’
देउवाको जवाफ सुनेपछि निधिले भनेका थिए, ‘शेरबहादुरजीले शुभकामना दिनुभनेको मेरा लागि त गुड न्यूज भइहाल्यो नी !’ तर, निधिको भनाइ टुंगिने बित्तिकै देउवाले जवाफ दिए, ‘मैले अहिलेलाई कहाँ भनेको हो त ! १५ औं महाधिवेशनका लागि शुभकामना भनेको हो । तपाईंलाई अहिले नउठ्नुस् भनेको मान्नुहुन्न !’
त्यसपछि निधिले ज्योतिषको प्रसंग निकालेका थिए । उनले भनेका थिए, ‘ज्योतिषिले तपाईंलाई प्रधानमन्त्री पो पटक-पटक हुनुहुन्छ भनेको हो त ! सभापति पटक-पटक बन्नुहुन्छ भनेको कहाँ हो र ?’ निधिको यो भनाइपछि दुवै नेता हाँसेका थिए । र, यो विषयमा देउवाले जवाफ नफर्काएको ती नेताले जानकारी दिए ।
निधिले सरकार सञ्चालनमा सहयोग गर्न भनेर वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बनाइएको राजनीति संयन्त्रका विषयमा असन्तुष्टि राखेका थिए । राजनीतिक संयन्त्र बनाउनु सकारात्मक कुरा नभएको उनको भनाइ थियो । निधिले भनेका थिए, ‘अहिले जुन संयन्त्र बनाइएको छ । यो राम्रो भएन । सरकार सञ्चालनका लागि यस्तो संयन्त्र बनाउन हुँदैन । यो त कम्युनिस्ट पार्टीको पोलिटब्यूरो जस्तो भइहाल्यो नी !’
निधिको असन्तुष्टि सुनेपछि देउवाले भनेका थिए, ‘हैन यो राष्ट्रियसभा निर्वाचनका लागि बनाइएको हो ।’ तर, निधिले देउवाको जवाफमा चित्त बुझाएनन् र भनिहाले, ‘मन्त्रीहरूले नै यो चुनावसम्मका लागि बनाइएको हो । आम चुनावको तयारीका लागि हो भनेका छन् । हामी कांग्रेस जित्नुपर्छ भन्छौं, गठबन्धन गरेर कसरी जितिन्छ ? यो संसदको कार्यकालभरी गठबन्धन गर्नुपर्छ । तर, चुनावमा एक्लै लड्नुपर्छ ।’
निधिको उठाएको यो सवालमा देउवाले प्रतिक्रिया जनाएनन् । स्विस राजदुतसँग भेटघाट गर्ने कार्यक्रम रहेको भन्दै बैठकको बिचमै निस्किएका निधिले अन्तिममा भनेका थिए, ‘कार्यकर्ताको भावना बुझ्दा पनि अहिले तपाईं र रामचन्द्रजी नउठ्नुस् भन्ने छ । मेरो आग्रह छ, दुवै जना नलड्नुस् । सकिन्छ दोस्रो पुस्ताबाट सर्वसम्मत नेतृत्व चयन गरौं, नभए स्वस्थ प्रतिस्पर्धा हुन दिऔं । निधिको यो प्रस्तावमा देउवा सकारात्मक देखिएनन् । देउवाले भनेका थिए, ‘होइन चुनाव लड्ने मेरो अधिकारको कुरा हो नी ! ’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij