Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री

हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री

  • 520
    SHARES
  • हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् ।

    एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उनले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताए ।

    ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्याे । विद्यालय उद्योग हुनुपर्यो,’ मन्त्री शर्माले भने, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्यो ।’ उनले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताए ।

    विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पूँजी निर्माण हुने उल्लेख गर्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताए । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उनको भनाइ छ । 

    सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उनले बताए । ‘विद्यालयको पूँजी भनेको सामुदायिक हुन्छ,’ उनले भने, त्यस्तै किसिमको अरू सामुदायिक पूँजी निर्माण गर्ने समूह÷समुदाय बनाउनुपर्छ ।’

    मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्नेमा जोड दिए । उनले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउँदै भने, ‘अब ठूलो/मेगा विद्यालय बनाउनुपर्छ र त्यही शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ ।’एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रीकृत गर्नुपर्ने उनको भनाइ छ ।

    नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठूलो गल्ती गरेको बताए । प्रचण्डपथ त्यागेकै कारण पार्टी विचलित र फुटको स्थितिमा पुगेको बताए । ‘शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटायौँ,’ उनले भने, ‘त्यो ठूलो गल्ती थियो । मैले त्यतिबेला नै यो गल्ती हुँदैछ भनेको थिएँ ।’ प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा सङ्गठनलाई केन्द्रीकरण गरेको बताउँदै उनले त्यो त्याग्नासाथ पार्टीमा विभाजन भएको बताए। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij