वेबटिभी खबर
काठमाडौं । अखिल (क्रान्तिकारी) की उपाध्यक्ष पञ्चा सिंहले विवेकशील-साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई तागत भए विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छन् ।
सडकको मोर्चा खाली देखेर मण्डलेहरू सलबलाउन खोजेको भन्दै नेतृ सिंहले अहिले पनि सडकको मोर्चा विद्यार्थीहरूले समालिरहेको बताइन् । ‘सडक खाली छैन । सडकमा अखिल (क्रान्तिकारी) छ । नेविसंघ छ । अखिल र समाजादी विद्यार्थी युनियनसहित दर्जनौं विद्यार्थी संगठन छन्,’ उनले भनिन् ।
मुलुकको पौने एक करोड विद्यार्थीहरूको संगठनको तागतलाई कम नआक्न भन्दै नेतृ सिंहले भनिन्, ‘रवीन्द्र मिश्रले हिजो एक कार्यक्रममा कलेज र विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्कीपूर्ण नारा पोतिएको ब्यानरअघि उभिएर हाम्रो आन्दोलन र परिवर्तनविरुद्ध बकबक गरेछन् । म चेतावनी दिन चाहन्छु, दरबारलाई ढालेर आएको यो आनदोलनलाई दरबारका भारदार र सेवकहरूले नजिस्काउन ।’
विद्यार्थी आन्दोलनले निरंकुश सत्ताको तीन पुस्तासँगको लडेको इतिहास पढ्न सुझाव दिंदै उनले भनिन्, ‘विद्यार्थी संगठनसामु मिश्रका दरबारिया मालिकहरूले घुँडा टेके तर संगठनलाई प्रतिबन्ध गर्न सकेनन् । मिश्रहरूले कसरी यो आन्दोलन र संगठनलाई खारेज गर्न सक्छन ?’ म मिश्रजीलाई हार्दिकता पूर्वक रेडियोको काममा फर्कन सुझाव दिन्छु । रवीन्द्र मिश्रजस्ता अनुभवी रेडियोकर्मीको त्यहाँ खाँचो छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij