काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदानोम गेब्रेयससले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट उत्सर्जित भाइरस हो भन्न अझ गहन अध्ययनको आवश्यकता रहेको बताएका छन् ।
‘प्रयोगशालाबाट भाइरस लिक भएको हुन सक्ने सम्भावना अत्यन्त कम छ तर पूर्ण अध्ययन नगरी यसबारे केही भन्नु उपयुक्त हुँदैन’ उनले भने । अमेरिकासहित केही अन्य देशले विश्व स्वास्थ्य संगठनलाई चीनले पर्याप्त जानकारी नदिएको भन्दै आलोचना गरेका छन् ।
चीनले सुरुदेखि नै प्रयोगशालाबाट भाइरस फैलिएको आरोप गलत भएको ठहर गर्दै आएको छ । विश्व स्वास्थ्य संगठनको एक टोलीले भाइरस उत्पत्तिबारे चीनको वुहानमा १४ जनवरीदेखि फेबु्रअरी १० सम्म अध्ययन गरेको थियो ।
कोरोना भाइरस सबैभन्दा सुरुमा सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा आधिकारिक रुपमा पुष्टि भएको थियो । चीनको अध्ययनमा पुगेको डब्ल्युएचओको टिमले मंगलबार एक रिपोट जारी गर्दै चीनका विशेषज्ञले आवश्यक तथ्यांक उपलब्ध नगराएको बताएको थियो । यस रिपोर्टले चमेरोमा रहेको कोरोना भाइरस अन्य कुनै जनावारमार्फत मानिसमा सरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
यसबारे चीनले कुनै प्रतिक्रिया दिएकाे छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij