वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले नेपाल सरकारको बजेट वक्तव्य बमोजिम प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई पारिश्रमिक दिन माग गरेको छ ।
शुक्रबार जिल्लाका सबै स्थानीय तहलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक संगठनले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को जारी बजेट वक्तव्यअनुसार इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १५ हजार उपलव्ध गराउने व्यवस्था कार्यान्वयनको माग गरेको हो ।
जिल्लाका कतिपय स्थानीय तहले सरकारको बजेट वक्तव्यमा उल्लेख भए अनुसार इसीडी शिक्षक शिक्षक र विद्यालय कर्मचारीलाई मासिक १५ हजार पारिश्रमिक उपलव्ध गराउन थाले पनि कतिपय स्थानीय तहले त्यसको कार्यान्वयनमा बेवास्ता गरिरहेको नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका सचिव नविन चाम्लिङले बताए ।
इसीडी शिक्षक र विद्यालय कर्मचारीका समस्या चाँडै समाधान नभए देशभर आन्दोलन थाल्छौं : शिक्षक महासंघ
सरकारको बजेट वक्तव्यमा इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १५ हजार उपलब्ध गराउन भनिएको छ । त्यसमध्ये नेपाल सरकारले ८ हजार र बाँकी रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने उल्लेख छ ।
त्यस्तै, एवं शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयको गत ३१ असोजको मन्त्रीस्तरीय निर्णयबाट पारित कार्यक्रम कार्यान्वयन पुस्तिकामा पनि इसीडी शिक्षक र विद्यालय कर्मचारीले मासिक १५ हजार पारिश्रमिक पाउनुपर्ने उल्लेख भएको शिक्षक संगठनको ज्ञापनपत्रमा भनिएको छ ।
‘सरकारद्वारा पारित बजेट बक्तव्यलाई ऐन सरह मानिन्छ । अतः सरकारद्धारा निर्धारित पारिश्रमिक श्रमजिवी शिक्षक तथा कर्मचारीले पाउने अधिकार राख्दछ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गर्ने पालिकाप्रति धन्यवाद व्यक्त गर्दै आंशिक रुपमा कार्यान्वयन गर्ने र गर्दै नगर्ने पालिकामा चालु आर्थिक वर्षको साउनदेखि तोकिएको तलब भत्ताको व्यवस्था कार्यान्वयनको जोडदार माग गर्दछौँ ।’ ज्ञापनपत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टंक कट्वाल र सचिव चाम्लिङको हस्ताक्षर गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij